सुजाता भन्छिन:

‘यसकारण प्रकाशमानलाई समर्थन गरेँ’

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेकी छन् । उनले शनिवार अनामनगरस्थित यलम्बर पार्टी प्यालेसमा सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उम्मेदवारी घाेषणा गर्दै सुजाताले भनिन्:—
सबैभन्दा पहिलो त म प्रकाशमानजीलाई किन समर्थन गरेँ भने, मैले को नेताले के भन्छन् भनेर हेरिरहेकी थिएँ । कसले के बोल्छ भनेर पर्खिरहेकी थिएँ । त्यसपछि मलाई लाग्याे, यो कांग्रेसलाई परिवर्तन गर्ने, देशलाई परिवर्तन गर्ने नेता प्रकाशमानजी हाे भनेर । मैले उहाँलाई मात्रै देखेँ । यसपछि उहाँलाई समर्थन गर्न आएकी हुँ ।

मैले सत्य कुरा बोलेकी हुँ, मनको कुरा बोलेकी हुँ । उहाँले महिलालाई स्थान दिनुभयो, उहाँले मलाई जुन स्थान दिनुभयो । त्यसका लागि पनि मैले उहाँलाई धन्यवाद भन्नैपर्छ । साथै अन्य धेरै साथीहरू आउनुहुन्छ र अझ समावेशी टीम बन्छ हाम्राे ।

म खाली देश परिवर्तन हुनुपर्छ, कांग्रेस परिवर्तन हुनुपर्छ भन्ने पक्षको मान्छे हुँ । नेपाली कांग्रेस खम्चिँदै गएको छ । यसलाई अब पुनः ठूलो बनाउनुपर्ने जिम्मेवारी आएको छ । यसलाई प्रकाशमानजीले राम्ररी पूरा गर्न सक्नुहुन्छ । हाम्रो पार्टी समावेशी बन्दैछ । हाम्रो टीम समावेशी बनेकाे छ । हाम्राे टीम समावेशी बन्दैछ । प्रकाशमानजी आफैँ नै आदिवासी जनजाति हुनुहुन्छ, म महिला छु । अन्य धेरै साथीहरू यहाँ अटाउनुहुन्छ ।

यसरी राम्रो टीम बनेको छ । अब आउँदो चुनावमा बहुमत ल्याउनका लागि यो टीम खडा भएको हो । तर, यसका लागि अहिले एउटा बाटो बन्नुपर्छ । त्यो नेपाली जनताले बुझ्नुपर्छ, कांग्रेसका नेताहरूले बुझ्नुपर्छ, प्रतिनिधिहरूले बुझ्नुपर्छ । मैले उहाँलाई समर्थन गरेकी छु । मैले किन समर्थन गरेँ भनेर पनि बुझ्नुहाेला ।

एकचोटी अब नेतृत्व परिवर्तन गरेको त हेरौँ । नयाँ नेतृत्वले कसरी काम गर्छ त्यो हेरौँ, के के सपार्छ हेरौँ । अब नेतृत्वमा पुस्तान्तरण हुनुपर्छ । यही भन्छु । साथै प्रतिनिधि साथीहरूलाई म आग्रह गर्छु । हाम्रो समावेशी टीमलाई जिताइदिनुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *