माओवादीको कर्णाली प्रदेश सम्मेलन सुरु, यी हुन् नेतृत्वका आकाङ्क्षी

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ वीरेन्द्रनगरमा सुरु भएको छ । शनिबार माओवादीको कर्णाली प्रदेशको प्रथम सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरु भएको हो ।

माओवादीको यस ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’मा प्रदेशका १० वटै जिल्लाबाट करिब नौसय ६२ जना प्रदेश प्रतिनिधिहरु सहभागी भएका छन् । उक्त सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअलमार्फत् गरेका हुन् ।

कर्णालीमा माओवादीको प्रदेश सम्मेलनलाई सफल बनाउन भन्दै माओवादीले विभिन्न नेताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । जसमध्ये कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आर्थिक व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।

त्यस्तै पूर्वआर्थिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको नेतृत्वमा प्रचार–प्रसार उपसमिति, माओवादी सुर्खेतका संयोजक कृष्ण जिसीको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीको संयोजकत्वमा स्वास्थ्य तथा प्राथमिक उपचार समिति र सांसद कृष्णा शाहको संयोजकत्वमा कलाकार तथा मनोरञ्जन व्यवस्था उपसमितिको नेतृत्व दिइएको माओवादीले जनाएको छ ।

यी हुन् प्रदेश समितिको नेतृत्वका आकाङ्क्षी ?

माओवादी केन्द्रमा कर्णाली प्रदेश समितिको नेतृत्वका लागि आधा दर्जन नेताहरु आकाङ्क्षी देखिएका छन् । सुर्खेतका नरबहादुर विष्ट, सल्यानका टेकबहादुर बस्नेत, रुकुमपश्चिका राजकुमार शर्मा, जाजरकोटका रामदीप आचार्य र कालीबहादुर मल्ल, कालीकोटका महेन्द्रबहादुर शाही लगायतका नेतृत्वका लागि आकाङ्क्षी छन् ।

विष्ट सुर्खेत इन्चार्ज हुन् भने बस्नेत र मल्ल प्रदेश कमिटी सह–इन्चार्ज हुन् । त्यस्तै रुकुमपश्चिमका शर्मा बहालवाला प्रदेश कमिटी अध्यक्ष, जाजरकोटका आचार्य प्रदेश कमिटी सचिव हुन् । कालिकोटका शाही कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवम प्रदेश सह– इन्चार्ज हुन् । तिमध्ये शार्मा पुनः अध्यक्षमै दोहो-याउने पक्षमा छन् ।

शर्मा र शाहीलाई पार्टीका संगठन विभाग प्रमुख एवम अर्थमन्त्री जनार्दन शर्माको बलियो साथ छ । तर, प्रदेश कमिटी इन्चार्ज एवम पूर्वमन्त्री शक्ति बस्नेतले जाजरकोटका मल्ल, आचार्य र सल्यानका बस्नेत मध्ये एक जनालाई नेतृत्वमा ल्याउन चाहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

माओवादीमा कर्णालीबाट १६ जना केन्द्रीय सदस्यहरु छन । प्रदेश इन्चार्ज बस्नेत र संगठन विभाग प्रमुख शर्मा बाहेक १४ जना मध्येबाट एक जनालाई प्रदेशको महत्वपूर्ण जिम्मेवारी दिने माओवादीले तयारी छ । कर्णालीमा माओवादीका ८५ हजार पाँच सय २२ जना सदस्यहरु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *