कांग्रेस महाधिवेशन

मतदान गर्न एकजनालाई आधा घण्टासम्म लाग्ने, परिणाम आउन एक साता

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ४८६ जना प्रतिस्पर्धामा छन् । ५४८ जनाले मनोनयन दर्ता गराएकोमा ६२ ले फिर्ता लिएपछि ४८६ जना चुनावी प्रतिस्पर्धामा छन् । शनिवार मनोनयन दर्ता आइतबार दाबी विरोध र फिर्ता र सोमबार चुनाव हुन लागेको हो ।

दुईजना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । आइतबार ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका छ ।

मतदानको नतिजा आइसक्न कम्तीमा १ हप्ता लाग्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेकाअनुसार एक साताभित्रै मतगणनाको परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य छ । अघिल्लो १३ औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम आउन दुई हप्तासम्म लागेको थियो ।

निर्वाचन अधिकृत एकराज पोखरेलले मतगणना सक्न बढीमा १० दिनसम्म लाग्न सक्ने बताए । सबैभन्दा अन्तिममा खुला केन्द्रीय सदस्यको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

मतदान गर्न एक जनालाई आधा घण्टा
कांग्रेसको जारी महाधिवेशनमा एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । यसो हुँदा एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि आधा घण्टादेखि एक घण्टासम्मको समय लाग्न सक्ने निर्वाचन समितिका संयोजक घिमिरेले बताए ।

मतदाताको भिडका आधारमा मतदानको अन्तिम समय निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ । मतदाताले हरेक मतपत्रमा आफ्नो उम्मेदवारको नामसँगै ठिक चिन्ह लगाएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । कांग्रेसले वडा अधिवेशनदेखि नै उम्मेदवारका नाममा ठिक चिन्ह लगाएर मतदान गर्दै आएको छ ।

मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको जनाएको छ । तीन फरक ठाउँबाट मतदाता मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

कुन पदमा कति उम्मेदवार ?
सभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी परेको थियो । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएकोमा न्यौपानेले फिर्ता लिएपछि सभापतिमा ५ जना प्रत्याशी छन् ।

उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाह, महेश आचार्यले मनोनयन दर्ता गराएका छन् । आचार्यले विना प्यानल उम्मेदवारी दिएका हुन् । महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् ।

८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसङ्ख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसङ्ख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

यस्तै, सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसङ्ख्यकबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली :-

सभापतिमा जित्न ५० प्रतिशतभन्दा बढी मत आवश्यक
कांग्रेसको पार्टी विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ ।
सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *