कांग्रेस महाधिवेशन : मतदान ११ः४५ बाट शुरु हुँदै

काठमाडौँ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ११ः४५ बजेबाट मतदान शुरु हुने भएको छ । काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे हुने भनिएको मतदान झण्डै ३ घण्टापछि शुरु हुने भएको हो ।

निर्वाचन समिति सदस्य तेज रावलका अनुसार मतपत्र आउन ढिलाइ भएकाले मतदानको कार्यक्रम केहीबेर पछि सारिएको हो । ‘मतपत्र भर्खरै आएकाले हस्ताक्षर गरेर मतदान शुरु हुनेछ । अहिले २ हजार मतपत्रमा हस्ताक्षर भइसकेको छ’ उनले भने ।

यतिबेला मतदानस्थलमा सभापतिका उम्मेदवारहरू राष्ट्रिय सभागृहमा आउने क्रम सुरु भएको छ । कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सह महामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *