‘गुटमा नपर्दैमा जनताको मनमा परिँदैन भन्ने हुँदैन’
काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्य पार्टीकाे जारी १४औं महाधिवेशनमा उपसभापतिका पदका उम्मेदवार हुन् । उनले स्वतन्त्र रूपमा आफ्नाे उम्मेदवारी दर्ता गराएका छन् । उनी कसैकाे प्यानलमा छैनन् । उनी भन्छन्— ‘म नेता मिलाउनतर्फ लागिनँ । मलाई प्रतिनिधिहरूकाे विवेकमाथि पूर्ण विश्वास छ ।’
कुनै पनि गुटमा नपर्दैमा हारिन्छ भन्ने कहीँकतै नभएकाे उनी बताउँछन् । तपाईं बिनागुट उम्मेदवार बन्नुभयाे, म जित्छु नै भन्ने छ ? भन्ने मकालुखबरकाे जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘कुनै याेग्य व्यक्ति बिनागुट कुनै पनि चुनावमा उम्मेदवार बन्दा हार्छ नै भन्ने हुन्छ र ?’ आइतबार प्रतिनिधिहरूलाई पत्र लेख्दै गुट र विचारमध्ये एक राेज्न आह्वान गरेका उनले थपे— ‘पार्टीलाई विचारमार्फत हाँक्ने कि गुटमार्फत लाने भन्ने आजकाे प्रमुख प्रश्न हाे । यसमा हरेक प्रतिनिधि जानकार हुन आवश्यक छ ।’
गुटकाे राजनीतिले पार्टीलाई माथि उ्ठन नदिएकाे उनी बताउँछन् । भन्छन्— ‘मैले गुटको धमिरा लागेर सकिन लागेको पार्टीलाई त्यसबाट मुक्त गर्ने प्रयास पहिलेदेखि नै गरिरहेको छु । पुन: एकचाेटी प्रयासस्वरूप याे गरेकाे हुँ, उम्मेदवारी दिएकाे हुँ । मैले हाम्रो संगठनसँग सम्बन्धित महत्वपूर्ण केही बिषयमा छलफल गर्नपर्छ भनेर प्रस्ताव गरेको छु, म कुनै नेतालाई मिलाउन लागेको पनि छैन ।’
जय र पराजय महाधिवेशन प्रतिनिधिहरूकाे हातमा छोडेको बताएका उनी थप्छन्, ‘प्रतिनिधिहरू भनेका भाेलिका कांग्रेस हाँक्ने नेता साथीहरू हुनुहुन्छ । उहाँहरूले गलत निर्णय लिनुहुन्छ भन्ने त लाग्दैन ।’
देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उनकाे विश्लेषण छ । यसबारे महाधिवेशनमा बहस हुनुपर्नै उनकाे माग छ । ‘महाधिवेशन वैचारिक पनि हुनुपर्छ भन्ने मेराे माग र मान्यता छ,’ उनले भनेका छन् ।
यस्तै उनी विजय वा पराजय खासै ठूलो विषय नभएको बताउँछन् । ‘आफ्ना एजेण्डा कार्यकर्तालाई बुझाउन सक्नु नै उपलब्धि हाे,’ उनले भने,’विजय वा पराजय ठूलाे कुरा हाेइन ।’