नेताहरूको सल्लाहअनुसार पार्टी हितमा अघि बढ्छु : सचिव पाठक
धनगढी । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठकले पार्टीलाई पहिलो बनाउने गरेर क्रियाशील हुने बताएका छन् । आइतबार भक्तपुरमा बसेको पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले सुदूरपश्चिम प्रदेशकाे सचिवमा मनोनीत गरेपछि प्रतिक्रिया दिँदै पाठकले पार्टी हितमा क्रियाशील हुने बताएका हुन् ।
आफूलाई प्रदेश सचिव जस्तो गहन जिम्मेवारी दिलाउन केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी समिति सदस्य कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र प्रदेश अध्यक्ष दामोदर भण्डारीको सहयोगप्रति आभार व्यक्त गरे । उनले तत्काल प्रदेश अधिवेशन र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समेत प्रदेश कमिटी सक्रिय रहने उनले बताए । नेताहरूको सल्लाह र सुझाव लिएर मैले पार्टीलाई अझ व्यवस्थित र सांगठनिकरुपमा चुस्त दुरुस्त बनाउने प्रयास गर्नेछु उनको भनाइ छ ।
विगतमा अनेरास्ववियूको जिल्ला, अञ्चल, क्षेत्र हुँदै केन्द्रीय कोषाध्यक्ष भएर समेत काम गरेका पाठकले धनगढीमा र क्षमतावान्, गतिशील बौद्धिक व्यक्तित्वको छवि बनाएका छन् । उनी पछिल्लो दुई कार्यकाल एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत थिए । सचिव पाठकले विगतमा स्थानीय र प्रतिनिधि सभाका निर्वाचनमा एमाले उम्मेदवारका पक्षका कार्यकर्ता परिचालन र चुनावी घोषणा पत्र निर्माणमा समेत योगदान पुगाउँदै आएका थिए ।
उनी १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको समेत आकाङ्क्षी थिए । तर नेताहरूको सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । राजनीतिमा सक्रिय हुनकै लागि उनले एक गैरसरकारी संस्थाको जागिर पनि छोडेका थिए । उनले विद्यावारिधिको उपाधि लिने तयारी समेत गरिरहेका छन् ।