देउवालाई नि:शर्त समर्थन गरेकाे हुँ : प्रकाशमान

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति चयनको दोस्रो चरणको निर्वाचनमा आफूले निःसर्त रूपमा शेरबहादुर देउवालाई समर्थन गरेको जिकिर गरेका छन् । पहिलो चरणबाटै सभापतिको दौडबाट बाहिरिएका प्रकाशमानले आफूले कुनै सर्तबिना देउवालाई समर्थन गरेको बताएका हुन् । ‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले शेरबहादुर देउवालाई निःसर्त समर्थन गरेको हुँ,’ प्रकाशमानले भनेका छन् ।

आफ्नो कार्यशैली परिवर्तन गरेर अघि बढ्ने बताएपछि आफूले समर्थन गरेको प्रकाशमानको भनाइ छ । ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरुप उहाँलाई समर्थन गरेको हुँ,’ उनको जिकिर छ ।

पहिलो चरणको मतदानमा प्रकाशमान आफैँ पनि सभापति पदको उम्मेदवार थिए । यद्यपि उनले ३७१ मत मात्रै पाए । पहिलो चरणको निर्वाचनबाट कांग्रेसको नेतृत्व नटुङ्गिएपछि दोस्रो चरण मतदान भएको हो, जहाँ प्रकाशमानले देउवालाई समर्थन गरेका छन् ।

दोस्रो चरणमा देउवा र अर्का प्रत्याशी डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएपछि देउवा प्रकाशमानिवास चाक्सीबारी नै पुगेका थिए । त्यहाँ भएको कुराकानीअनुसार देउवाले तत्काल उपप्रधान मन्त्री बनाउने र भविष्यमा प्रधान मन्त्रीमा प्रस्ताव गर्ने आश्वासन दिएका थिए । एक नेताकाअनुसार यसपछि प्रकाशमान देउवालाई समर्थन गर्न सकारात्मक भएका हुन् ।

त्यसभन्दा अगाडि उनले आफू कांग्रेसभित्रको रुपान्तरण र पुस्तान्तरण चाहने नेता भएको बताउँदै दोस्रो चरणमा शेखरलाई सघाउने बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *