ओलीले संसद् अवरुद्ध गरेर विघटन सही थियो भन्ने पुष्टि गर्न खोज्दैछन् : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् अवरुद्ध गरेर केपी शर्मा ओलीले आफूले गरेको दुई पटककाे संसद् विघटन सही थियो भनेर पुष्टि गर्न खोजेको आरोप लगाएका छन् । बुधबार बिहान आफ्नो आधिकारिक फेसबूकमार्फत एक सन्देश लेख्दै पौडेलले यस्तो बताएका हुन् । उनले भनेका छन्— ‘६ महिनाको समयमा दुई दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनौंदेखि संसद् अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।’

यस्तै उनले बीचमै संसद् बैठक अन्त्य नगर्न भनेको छन् । संसद् चलाएर त्यहीँबाटै निकास खोज्नुपर्ने उनको आशय छ । ‘संसद् चलाउँछु र संसद्बाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद् सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु सर्मपर्ण गरेको ठहरिनेछ,’ पौडेलले भनेका छन् ।

ओलीले प्रधान मन्त्रीको हैसियतमा पुस ५ गते पहिलो पटक र जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेका थिए । तर, त्यसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसयता ओलीसँगै एमाले नेताहरूले संसद् विघटन सही थियो र पुनः ताजा जनादेशमा जानुपर्ने विचार व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *