माघ १९ को उपद्रव प्रचण्ड-ज्ञानेन्द्रको सहमतिमा भएको सत्य हो : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माघ १९ काे सन्दर्भमा दिएको अभिव्यक्ति सत्य भएको जिकिर गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवाल–जबाफ गर्दै पोखेलले यस्तो बताएका हुन् । उनले भने— ‘जहाँसम्म माघ १९ मा प्रचण्ड र ज्ञानेन्द्रको सन्दर्भ छ । त्यो त १९ पछि माओवादीकै तर्फबाट जारी वक्तव्यले नै पुष्टि गरेकाे छ नि । त्यसले नै पुष्टि गर्छ नि । त्यो हामीले बताइरहनुपर्ने विषय नै होइन । त्यहाँ प्रचण्ड र बाबुराम भट्टराईको अन्तरकलहका क्रममा जारी गरिएका वक्तव्यहरूले नै पुष्टि गरेका छन् ।’

यसअघि ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका थिए । ओलीले भनेका थिए, ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रव भएको थियो । के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍याे नि ।’

यस विषयमा राखिएको जिज्ञासामा भूमिका बाँध्दै पोखरेलले थपे, ‘अध्यक्ष कारेड (ओली) ले भन्नुभएको कुरा सत्य हो, झुटो होइन ।’ ०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन शुरू गरेका थिए । ओलीले यो प्रचण्ड र ज्ञानेन्द्रको सहमतिमा भएको दाबी गरेका थिए ।

यसपछि प्रचण्डले वक्तव्य जारी गर्दै ओलीलाई पुष्टि गर्न चुनौती दिएका छन् । आज पोखरेलले पत्रकारहरूलाई भने, ‘तपाईंहरूजत्तिको स्रोत र सूचनामा पहुँच राख्नेहरूले ल्याउनुपर्ने विषय हो यो । यो राजनीतिक दलहरूले भनिरहनुपर्ने कुरा होइन । त्यो कुरा तपाईंहरू नै बाहिर ल्याइदिनुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *