माओवादी प्रदेश १ को पदाधिकारी चयनमा सकस, आकांक्षी बढ्दा सहमतिमा समस्या

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस देखिएको छ । सहमतिको नाममा लामो समयसम्म अल्झिएको नेकपा माओवादीले अधिवेशन भएको एक हप्ता बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसकेको हो ।

पदाधिकारी चयनका लागि भन्दै बुधबार बैठक बोलाइएको भए पनि कुनै निष्कर्षमा नपुगी पदाधिकारी चयनका लागि कार्यदल बनाएर बैठक सकिएको थियो । प्रचण्डले जे भन्यो त्यही गर्ने कार्यकर्ताका कारण अहिले पदाधिकारी चयनमा कठिनाइ भएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । प्रचण्डको निर्देशनपछि चुनावी प्रतिस्पर्धामा नगई सहमतिमा पदाधिकारी चयन गर्न खोज्दा पदाधिकारी चयन गर्न सकस परिरहेको उनीहरूले बताए ।

माओवादीले जति जति पदाधिकारी चयनका लागि ढिला गर्दैछ‚ उति नै आकांक्षी थपिँदा सहमतिमा नेतृत्व चयन थप पेचिलो बन्दै गएको छ । गतमंसिर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

२७१ जनालाई पदाधिकारी चयन गर्ने जिम्मेवारी दिएसँगै सकिएको अधिवेशनको मर्मअनुसार लामो समयसम्म पदाधिकारी चयन नहुँदा आन्तरिक किचलो सुरु भएको माओवादीले जनाएको छ । अधिवेशन स्थलबाटै पदाधिकारी टुङ्गो लगाउने भनिए पनि पदाधिकारी चयनमा विवाद भएपछि पुस २ बितिसक्दा पनि माओवादी प्रदेश १ ले पदाधिकारी पाउन सकेको छैन ।

यो अझै केहि दिन लम्बिने देखिएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा ओखलढुङ्गा समन्वय समितिका अध्यक्ष मोहन खड्काले केन्द्रीय सदस्यहरू पहिलो चरणमा आकांक्षी देखिँदा समस्या आएको बताए । ‘पहिलो अधिवेशन भएकाले विधिमा ल्याउन पनि समस्या भएको हो,’ उनले भने, ‘केन्द्रीय सदस्यहरू आकांक्षी देखिँदा केही दिन लाग्यो; अहिले उहाँहरू पछि हट्नुभएको छ, अरुलाई मिलाउन केही समय लाग्ने देखियो ।’

प्रदेश १ को अध्यक्षका लागि केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले दाबी गर्दै आए पनि बुधबारको छलफलपछि तीनै जनाले दाबी छाडेका थिए । केन्द्रीय सदस्य तीनै जनाले अध्यक्षको दाबी छाडेपछि प्रदेशका नेताहरूले धमाधम आफ्नो दाबी राख्न थालेका छन् ।

प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेकका प्रदेश सदस्यहरूलाई नेतृत्वमा जाने बाटो खुलेकाले आकांक्षी अझ बढेका छन् ।

अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरूको संख्या ६ पुगेको छ‚ जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् ।

नेकपा माओवादीले प्रदेशमा पदाधिकारी चयनका लागि भन्दै पुस ७ गते बैठक बोलाएको भए पनि अहिले अध्यक्षको आकांक्षी थपिँदै जाँदा त्यो दिन पनि टुङ्गो लाग्ने सम्भावना न्यून रहेको नेकपा माओवादी प्रदेश समितिका एक सदस्यले बताए ।

अध्यक्षमा मात्र नभएर उपाध्यक्ष र सचिवमा पनि सहमतिको सम्भावना कमजोर हुँदै गएको छ । उपाध्यक्ष पदका लागि खोटाङका ध्रुव बुढाथोकी, झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादव आफू उपाध्यक्ष हुनैपर्ने दाबी गर्दै आएका छन् ।

महिला उपाध्यक्षमा इन्दिरा मिश्र र विनिता घिमिरेले दाबी गर्दै आएका छन् । सचिवमा गणेश उप्रेती, मोहनकुमार खड्का, आइन्द्रविक्रम बेघा र ऋषिराम ढुंगानाले सचिवको लागि दाबी पेश गरेका छन् ।

माओवादी केन्द्रको विधानअनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *