एमाले माग- संसद् खुलाउन सभामुखको राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद्‌मा रहेको अवरोध हटाउन सभामुखले राजीनामा दिनुपर्ने माग गरेकाे छ । ‘अहिलेको अवरोध हटाउने हो भने सभामुखले राजीनामा दिनुपर्छ,’ शुक्रबार पत्रकार सम्मेलनमा एमाले समहाचिव शंकर पोखरेलले भने, ‘संसद्‌मा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौँ । हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा पनि चलिरहेको छ । हामीले कारबाही गरेका सांसद राखेर संसद् चलाइएको छ, त्यसलाई हामी स्वीकार्दैनौँ ।’

पोखरेलले एमालेले कारबाही गरेका सांसदहरूबारे भएको निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका हुन् । ‘यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद् चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ । सभामुखले कमजोरी नसच्याएसम्म संसद् अघि बढ्न सक्दैन । अवरोध जारी रहन्छ,’ उनले भनेका छन् ।

एमालेले २८ गते शुरू भएको संसद्को हिउँदे अधिवेशनअन्तर्गतका बैठकहरू पनि अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका सांसद (हाल एकीकृत समाजवादी) हरूले संसद्‌मा प्रवेश नपाउनुपर्ने भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *