वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा

काठमाडौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । शुक्रबार भएको संघको २१औँ वार्षिक साधारणसभाले उनलाई थापाको अध्यक्षमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । थापा यस अघि पनि तीन कार्यकाल संघको अध्यक्ष रहेका थिए ।

संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, तृतिय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ्ग एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभू हेलिकप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलाश हेलिकप्टर सर्भिसेस्का श्रीहरि कुईकेल र एयर डाइनेष्टि हेलि सर्भिसेस्का बालकृष्ण पण्डित चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष क्या. थापाले संघको उक्त साधारणसभालाई सम्बोधन गर्दै वायुसेवाको सूरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सूरक्षालाई विश्वासिलो बनाउँदै लाने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताए ।

नवनियुक्त अध्यक्ष क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आएका छन् । थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *