भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको १०औँ  राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्श बमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् । गत मंसिर १०-१४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा डा. रावल तयार नभएपछि निर्वाचन भएको थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *