सर्वदलीय बैठक आज, सहभागी होला त एमाले ?

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

शुक्रबार बिहान प्रधान मन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसद्मा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएको बुझिएको छ ।

सर्वदलीय बैठकमा संसद्लाई सुचारु गर्ने र अमेरिकी परियोजना एमसीसीलाई अघि बढाउने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसद्मा टेबल गर्ने तयारी गरेका छन् । त्यसका लागी उनले सबै दलहरूसँग छलफल गर्न लागेको स्रोतको दाबी छ । उनले दलहरुबीच सहमति नभए पनि प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् । यद्यपि एमसीसीलाई अघि बढाउने विषयमा सत्तारुढ दलभित्रै समेत विवाद छ ।

सहभागी होला त एमाले ?
संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ देखी संसद् बैठक अवरोध गरिरहेको छ । आफ्नो दलले कारबाही गरेका १४ सांसदहरूको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेका कारण एमाले रुष्ट छ । सर्वदलीय बैठकमा जाने वा नजाने निश्चित भएको छैन । एमालेले नेकपा एस सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ ।

आफ्नो पार्टीलाई बैठकबारे कुनै जानकारी नआएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘हामीलाई अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त भएको छैन । बैठक बस्ने हल्ला बाहिर नै सुनिएको छ,’ उनले भने, ‘एमालेले संसद्मा उठाएको मागलाई सम्बोधन गर्न सर्वदलीय बैठक बोलाएको हो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिधा संवाद गरे भयो । होइन भने गठबन्धन पार्टीको बैठकमा साक्षी बस्न हामी उपस्थित हुन जाँदैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *