एमसीसीकै कारण गठबन्धन नफुटाऔँ : भट्टराई

प्रतिगमनको खतरा टरेको छैन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन टरिनसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । ‘केपी ओलीको प्रतिगमनलाई हामीले तत्कालका लागि रोक्यौँ,’ भट्टराईले भने, ‘तर यो सदाका लागि टरिसकेको भने छैन । यसतर्फ राजनीतिक दलहरूले साेच्नुपर्छ ।’

यस्तै उनले एमसीसीका विषयमा राष्ट्रिय सहमति बनाएर अगाडि बढ्न आह्वान गरेका छन् । कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूबीच फरक धारणा हुने र त्यसलाई मिलाएर अगाडि बढ्न दलहरूको अभिभारा भएकाे उल्लेख गर्दै उनले भने, ‘जस्तै अहिलेको एमसीसी त्यही भएको छ । यसका सन्दर्भमा राजनीतिक दलहरूबीच फरक धारणा छन् । यसमा राष्ट्रिय सहमति खोजेर अगाडि बढौँ ।’

एमसीसीकै कारण गठबन्धन नतोड्न दलहरूलाई भट्टराईको सुझाव छ । ‘यसैका कारण गठबन्धनलाई नतोडौँ, यहाँ निर्णायक नेताहरू हुनुहुन्छ । यसमा सहमति खोजेरै अगाडि बढौँ, म तपाईंहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । भित्री र बाहिरी शक्तिहरूले गठबन्धनलाई तोड्न चाहेका छन् । यस्तोमा होशियारीपूर्वक अगाडि बढौँ । कमसेकम आगामी चुनावसम्म जाऔँ ।’

भट्टराई एमसीसी पारित गर्नुपर्छ भन्ने धारका नेता हुन् । उनले आइतबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि एमसीसी पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *