खोटाङको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औँ शाखा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औँ शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मङ्गलवार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन।
उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य अनुरूप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्त्वपूर्ण भूमिका हुने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।
बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशय युक्त जलविद्युतका प्रमुख वसन्त श्रेष्ठ, रावावेशी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, समाजसेवीहरू, उद्योगी व्यवसायीहरू, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरू, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारीहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।