२०६२/६३ पछि देख्न चाहेको लिडरसीप यो हो कि भन्ने आशा जगाएको छ : शंकर तिवारी
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणनाको नतिजा आउँदै गर्दा लेखक तथा विश्लेषक शंकर तिवारी दरबारमार्गको ‘कफी पसल’मा भेटिए । आफ्नो प्रिय छिर्केमिर्के रङको ओभरकोट र फुस्रो मफलरमा भेटिएका उनको छेउमा छालाको ब्याग र किताब राखिएको अर्को झोला थियो ।
केन्द्रीय सदस्यमा उम्मेदवार रहे पनि शीर्ष ३५ मा अटाउन नसकेकोमा खासै दुखी देखिएनन् । चुनावको थकान र परिणामको निराशा केहीमात्र देखिन्थ्यो उनको अनुहारमा । नेपाली कांग्रेसभित्र लेखपढ गर्ने र लेखाइमार्फत पार्टीको ‘क्रिटिकल एनलिसिस’ गर्ने नेताको छवि बनाएका तिवारीले केन्द्रीय कार्यसमितिभित्रबाटै कांग्रेसलाई सुधार्ने लक्ष्य अहिलेलाई पूरा नभए पनि यो नछाडेको र बाहिरबाट खबरदारी र मार्गदर्शन गरिरहने बताए । आफू विजयी हुनु र नहुनुको अर्थ र कारणभन्दा १४औँ महाधिवेशनपछिको कांग्रेससँगको आशा, अपेक्षा, उत्साह वा निराशा अनि यसको अर्थका बारेमा मकालुखबरका सम्पादक लक्ष्मण कार्कीले गरेको कुराकानी :-
तपाईँको उम्मेदवारी र परिणामको विषयमा हामी अनौपचारिक कुराकानीमा गफ्फिउँला, यताचाहिँ पार्टीकै कुराबाट मेलो पसौँँ, चार वर्षका लागि कांग्रेसमा नयाँ रक्तसञ्चार गराउने भनिएको महाधिवेशन र यसको नतिजाबारे यहाँको टिप्पणी के छ ? अहिले कता कता चाहिनेभन्दा बढ्ता उत्साह र धेरै आशा पो हो कि जस्तो देखिन्छ‚ खासमा कति अपेक्षा गर्न सकिन्छ कांग्रेसको यो टीमसँग ?
खासमा कांग्रेसभित्र ‘ओल्ड स्कूल अफ लिडरसिप’ र ‘न्यू स्कूल अफ लिडरसिप’बीचको द्वन्द्व चलिआएकै हो । पछिल्लो समय न्यू स्कुल अफ लिडरसिपबारे गगन थापा‚ विश्वप्रकाश शर्माहरूले नेतृत्व गर्नुहुन्थ्यो । देउवा हार्डकोर कन्जरभेटिभ हो भने शेखर कोइराला, प्रकाशमान सिंह वा विमलेन्द्र निधि मोडिफाइड लिडर हो । तर, गगन थापाहरूले नै मोडिफाइड नेतृत्व नै स्वीकार्ने भनेर आफू सभापतिमा नलड्ने निर्णयमा पुगेपछि हामी टोटल्ली न्यू स्कुल अफ लिडरसिपका हिमायतीहरूको केही लागेन । उहाँहरू कांग्रेसको पुरानो नेतृत्वसँग टसल गर्नुभन्दा मिलेर जाउँ भन्नेमै पुग्नुभएको होला । २०६२/६३ पछि भएका सबै अर्थात् १२औँ‚ १३औँ र १४औँ महाधिवेशनमा ओल्ड स्कूल र न्यू स्कुलबीचको यो द्वन्द्व र टसल धेरै नै रहँदै आएको थियो । तर‚ यो महाधिवेशनले ‘ओल्ड स्कूल अफ लिडरसिप’ अब चाहिँ दोहोरिँदैन; यो नै अन्तिम महाधिवेशन हो भन्ने देखायो नै ।
कार्यकर्ताले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा अनुमोदन गरे । अझ गगन थापालाई त झनै धेरै मत प्राप्त भयो । अबको महाधिवेशनमा गगन थापा सभापतिको उम्मेदवार हो नै । अर्को उम्मेदवार विश्वप्रकाश शर्मा वा पूर्णबहादुर खड्का‚ को हुने हो थाहा छैन तर गगन थापा हो भन्ने देखिन्छ । अब कसले कस्तो एजेन्डा लैजाला वा कसले कार्यकर्ताको मन धेरै जित्ला‚ उसैले चुनाव पनि जित्ला भन्ने कुरा नै हो ।
पुरानै ‘स्कुल अफ थट’का सभापति शेरबहादुर देउवा चुनिनु र बहुमत पनि उनकै हुनुले महा मन्त्रीलगायत केही पदाधिकारी र केही सदस्य फेरिँदैमा धेरै नै परिवर्तन हुने भो भनेर खुसी भइहाल्नुपर्ने अवस्था कसरी रह्यो त ?
यो मत परिणामले पार्टीको र्याङ्क एन्ड फाइलमा प्रभाव पार्छ नै । शेरबहादुर देउवा र पूर्णबहादुर खड्काबाहेक पदाधिकारीका सबैजसो ५० वर्ष हाराहारीका छन् । खुलातर्फ १६ जना त नयाँ केन्द्रीय सदस्य आएका छन् । भलै, केन्द्रीय सदस्य आउँदैमा सबै ठिकठाक भइहाल्ने भन्ने त होइन, उहाँहरूको परफर्मेन्स कस्तो हुन्छ, कस्तो विचार र आइडिया जेनेरेट गर्छन् भन्ने हो । गगन थापा, विश्वप्रकाश शर्माहरू भनेको आइडिया जेनेरेटर पनि हो । उहाँहरूले के भन्नुहुन्छ र म पनि त्यही कुरा भन्छु भनेर पर्खेर बस्ने लाखौँ नेता/कार्यकर्ता छन् कांग्रेसमा । त्यसैले अब पनि भागबण्डाको भरमा पार्टी अगाडि जाँदैन ।
अर्कोतिर शेरबहादुर देउवा यसै पनि टेक्नोक्याट सभापति हुनुहुन्छ । किन पनि भने उहाँले पहिलो पटकमै बहुमत ल्याएर जितेको त होइन । दोस्रोपटक जितेको हो नि । उहाँ हरक्षेत्रलाई मिलाउन माहिर हुनुहुन्छ भन्ने कुरा उहाँको खुबीको कुरा भयो तर पार्टी अब यसरी चल्दैन ।
तपाईँहरूजस्तो मिडिया वाचडगको रूपमा हुनुहुन्छ, कार्यकर्ताहरू पनि पहिलाजस्तो मौन छैनन् । नेतृत्वमा पुग्दै गरेका युवालाई अझै पर पुग्नुछ । ९ लाखबाट छानिएर आएको ४७ सय महाधिवेशन प्रतिनिधि अनि उनीहरूले चुनेका १३८ जनाको केन्द्रीय समितिको त अर्थ छ नि । यसमा युवा चेहरा पर्याप्त आएका छन् । उनीहरूसँगको आशा यसकारण पनि बढेको हो । त्यसैले यसका केही अर्थहरू छन्, जससँग आशा गर्न सकिन्छ ।
यसको अर्थ अब चुनाव जितेकाहरूले चाहेमा कांग्रेसको अहिलेको अवस्था बदल्न सक्ने अवस्थाको निर्माण भएको हो त ?
महाधिवेशन प्रतिनिधिले अब चुनौतीको चाङ विजेताहरूमाथि नै थोपरिदिएका छन् । अब गर्नुपर्ने विजेताहरूले नै हो । वास्तवमा जनमतको व्याख्या असजिलो कुरा हो । कहिलेकाहीँ व्यक्तिको इगो, टकराबको व्यवस्थापन पनि राजनीतिमा महत्त्वपूर्ण हुन्छ । अहिल्यै टिप्पणी गरिहाल्नु हतारो पनि हुन सक्छ । महाधिवेशन प्रतिनिधिले राखेको विश्वास र भरोसा पूरा गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले सिरियस्ली लिनुहोला भन्ने आशाचाहिँ गर्न सकिन्छ, गर्नैपर्छ । त्यसैले यो नयाँ टिम र त्यसको बनोटका विभिन्न पक्षहरूलाई विचार गर्दा कांग्रेस नयाँ ढङ्गले अघि बढ्ने सम्भावना देखिन्छ ।
अब कांग्रेस कसरी अघि बढ्ला ?
अब यो सबैका लागि चासोको विषय छ । नयाँ कार्यसमिति अब परीक्षामा छ । उसको पहिलो परीक्षा अबको तीन महिनामा गर्नुपर्ने नीति महाधिवेशनमा हुनेछ । यो महाधिवेशन उसको जीवनमै पहिलोपटक हुन लागेको हो । त्यो कसरी सम्पन्न हुन्छ, के विषयहरू पेश हुन्छन्, त्यसमाथि के कस्ता छलफलहरू हुन्छन्, भन्ने कुरा महत्त्वपूर्ण हुन्छ नै ।
कार्यकतामाझको उपस्थिति र नयाँ पार्टी बनाउनेबारेको भूमिकाका आधारमा पनि मत पाएका छन् निर्वाचितहरूले । बेनिफिट अफ डाउट भनेको एकपटक मात्र पाइने हो । त्यो अवसर उहाँहरूले खेर फाल्न हुन्न भन्ने विश्वास गर्ने हो । उहाँहरूले त देख्नुभयो नि । यो महाधिवेशनपछि बीचका केही नेताहरू पुस्ताहरू त अब बडारिने देखियो नि ।
३० देखि ४६ सालबीचको अर्थात् अहिलेको तेस्रो पुस्तासम्मको अवस्था अब के हुने भन्ने कुरा त देखियो नै । नरहरि आचार्यले आफ्नो पुस्तकमा शेरबहादुर देउवापछि प्रधान मन्त्री गिरिजाबाबु नभएर सुशील कोइराला वा शैलजा आचार्य हुनुपर्नेमा फेरि गिरिजाप्रसाद कोइराला नै हुन थालेपछि कांग्रेसले बाटो बिराएको तर्क गर्नुभएको छ । यसले देउवाको कमब्याकलाई सहज बनायो । अहिले काम राम्रो गरेर होइन‚ कतिपटक भएको भनेर चर्चा गर्ने गरिन्छ । कुनै राम्रो काम गरेर होइन, अझ बिगारेर निस्केको, व्यवस्थाको बदनाम गरेर निस्केको व्यक्ति, कुनै दिशा दिन नसकेको व्यक्ति पनि यति पटक प्रधान मन्त्री भयो वा यतिपटक सभापति भयो भनेर योग्यताको पुस्ट्याइँ गर्ने गरिन्छ । यो त उसको दासत्व स्वीकार्नेजस्तो कुरा भयो ।
उदाहरणका लागि डा रामशरण महतलाई लिउँ । उहाँ पटक-पटक अर्थमन्त्री बन्नुभयो । उहाँ त्यहाँभन्दा कहिल्यै अघि जानै चाहनुभएन । कुनैबेला प्रधान मन्त्री बन्ने वा सभापतिको फ्लोर टेस्ट गर्ने साहसै गर्नुभएन । अब त उहाँ त्यहीँबाट बिदा हुने हो नि नेतृत्वमा । यस्तो किन भयो भने ‘दे कुड नट रिभोल्ट एट द राइट टाइम’, सही समयमा सही निर्णय गरेनन् । जसले गर्दा गणतन्त्रको पोस्टर ब्वाईहरू अब पार्टी राजनीतिमा स्थापित हुनुभयो । अब नयाँ ढङ्गले अघि बढ्छ भन्ने आशा यसले पनि जगाएको हो ।
अहिले दुई महामन्त्रीको चर्चा सर्वत्र छ । तर‚ सँगै उहाँहरू त एक हिसाबले प्रतिस्पर्धी पनि त हुनुभयो, तपाईँको विचारमा उहाँहरूबीचमा आन्तरिक प्रतिस्पर्धा कस्तो होला ?
उहाँहरू दुवैले आ-आफ्ना बलिया र कमजोर पक्ष पक्कै बुझ्नुभएको होला । पार्टीको चुनाव एक कुरा हो भने सँगै संसद्को चुनावको पनि अर्थ हुन्छ । गगन थापा यो उचाइमा पुग्नुमा उहाँ तीनपटक संसद् र संविधानसभामा पनि हुनुले पनि हो । विश्वप्रकाश शर्माले आफ्नो ख्याति र क्षमता जोगाएर राख्नुभएको थियो र सही समयमा क्लिक गर्नुभयो भन्ने पुष्टि त महाधिवेशनले गर्यो ।
अब उहाँहरू कसरी अघि बढ्नुहुन्छ‚ आफूले पाएको जनमतलाई कसरी लिएर जानुहुन्छ त्यो भन्न अहिले सकिन्न । सरसर्ती हेर्दा महाधिवेशनसँगै गगन थापासँग एउटा टिम छ भन्ने देखिन्छ । विश्वप्रकाश शर्मा कहाँ र कसरी अघि बढ्लान् भन्ने कुरा पनि उस्तै रोचक र महत्त्वपूर्ण छ नै । यसका लागि केही समय कुर्नुपर्छ ।
कांग्रेसमा अहिलेको शेरबहादुर, रामचन्द्र, शेखर वा शशांक गुट भनेजस्तो अब गगन गुट र विश्वप्रकाश गुट वा पक्ष हुने सम्भावना कत्तिको छ ? किनभने अब यहाँ पहिले उल्लेख गरिएका गुटहरू त रहिरहलान् जस्तो छैन ।
तपाईँले भनेको जस्तो हुने सम्भावना देख्छु म । त्यसमा अरू फ्याक्टर पनि हुन्छन् । पूर्णबहादुर‚ धनराज फ्याक्टर त हुन्छन् नै । तर‚ गगन र विश्वप्रकाशले टिमको लिड गर्ने कुरा पनि अत्याधिक सम्भावना भएको कुरा हो ।
अर्कातिर, अहिले गुट भत्केका छन् । अब शेरबहादुर देउवाको रिटायरमेन्टपछि गुट भत्कने र बन्ने क्रम अझ नयाँ ढङ्ग र तीव्र गतिले अघि बढ्छ भन्ने लाग्छ मलाई । जसरी सुशील कोइरालाको सेखपछि उहाँ निकट गुट नयाँ ढङ्गले अघि बढ्यो‚ त्यस्तै शेरबहादुर देउवाको रिटायरमेन्टपछि देउवा गुटमा पनि त्यो समस्या बन्छ ।
दोस्रो जनआन्दोलनपछि गगन थापा ओपिनियन मेकर हो भन्नेमा शंका छैन । त्यो क्रम कसरी अघि बढ्छ भन्ने पनि हो । देश दौडाहामा पार्टीका बैठकमा ती भावनालाई कसरी प्रतिबिम्बन गर्न सक्छन् भन्ने आधारमा भावी कुरा तय हुने हो । त्यसको प्रभाव कांग्रेसमा मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि पर्छ । तर‚ यो परिदृश्य अहिल्यै परिपक्व भइसकेको चाहिँ होइन, सम्भावनाको हिसाबले हेर्दा कांग्रेसमा अब त्यस्तो अवस्था आउनसक्ने मैले देख्छु ।
यदि यस्तो भयो अर्थात् गगन र विश्वप्रकाशले आ-आफ्ना गुटको नेतृत्व गरे भने त नीति र विचारको कुरा पनि होला कि अहिल्यै जस्तो भागबण्डा वा नाम वा विरासतमात्र होला त ?
अहिलेको जस्तो त हुँदैन नै । किनभने अहिल्यै पनि गगन थापा र विश्वप्रकाश शर्माले आ–आफ्ना घोषणापत्र सार्वजनिक गर्नुभयो । जसमा उहाँहरूले आ-आफ्ना मार्गदर्शन‚ विचार र योजना प्रस्ताव गर्नुभएको छ । कसको घोषणापत्र वा विचारमा बलियो पक्ष के र कमजोर पक्ष के वा कसको भन्दा कसको कुन कुराले बलियो वा कमजोर भन्ने कुराहरू पर्गेलिने छन् नै । गगनको घोषणापत्रमा के छ‚ विश्वप्रकाशकोमा के छ ? कुनमा के अपुग छ भन्नेजस्तो कुरा हुन्छ नै ।
त्यसैले अब गुट विचारका आधारमा बन्छन् र तिनीहरू विचारमा आधारित हुन्छन् । एउटा उदाहरण हेरौँ- अमेरिकामा महिलाबारे कुनै उम्मेदवारको धारणा के हो, आप्रवासनबारे धारणा के हो, जलवायु परिवर्तनबारे धारणा के हो ? भन्ने खालको बहस हुने गरेको छ । र त्यसकै आधारमा जनमत पनि प्रभावित हुन्छ । अब त्यस्तै बहस नेपालमा पनि होला कि ?
समाजवादकै कुरा गरे पनि गगन र विश्वप्रकाशले भनेको समाजवादमा के फरक छ ? कसले भनेको चाहिँ समाजवाद सहि हो त‚ भनेर खोज्ने दिन आउँछ अब । आउनेछ भन्ने देख्छु म । यो आउनुपर्छ पनि । यसले पार्टीमा निरन्तर घर्षण गराउँछ । दुवै जनाले आइडियामा बहस गर्ने भएपछि यसको विकल्प छैन नि ।
कांग्रेस भनेर मात्र पुग्दैन‚ अब अमेरिकामा जसरी डेमोक्र्याट्सभित्र पनि विभिन्न वर्गीकरण छन् । र्याडिकल डेमोक्र्याट्स, प्रोगेसिभ डेमोक्र्याट्स, नन प्रोगेसिभ डेमोक्र्याट्स, लिबरल डेमोक्र्याट्स, कन्जरभेटिब डेमोक्र्याट्स । यस्तै नेपालमा पनि आउला । लोकतन्त्रवादीमात्र भनेर पुग्दैन अब । त्यसैले यसको अर्थ निकै गहिरो छ भनेको हो मैले । किनभने हामीले २०६२/६३को जनआन्दोलनपछि देख्न चाहेको लिडरसिप यो हो कि भन्ने आशा जगाएको छ, यो महाधिवेशनले ।
यसको अर्थ अहिले सर्वाधक चर्चा भएका र स्याब्बासी पनि पाइरहेका दुई महामन्त्रीहरूलाई चुनौती सर्वाधिक हो अब ?
होइन‚ विधान त बहुमत पुर्याएर शेरबहादुर देउवाले परिवर्तन पनि गर्नुहोला‚ तर त्यस्तो नहोस् भनौँ । तर‚ अब कुरा के हो भने अब भावी प्रधान मन्त्री शेरबहादुर देउवा हो भन्दै गर्दा कांग्रेसको बहुमत आउँछ कि आउँदैन ? आउँदैन भने कसैलाई पनि नतोकी जाने हो कि ? यसबारेमा पार्टीले कस्तो निर्णय गर्छ भन्ने हो । त्यसले अब त पार्टी निरन्तर घर्षणमा गयो । अब रामचन्द्र पौडेल पक्षसँग गएको जस्तो जान सजिलो छैन । अब भागबण्डाको मात्र कुरा गरेर वा पेलेरै जान सकिने अवस्था छैन । एजेन्डाभन्दा माथि बहुमत हुँदैन । बहुमत प्राविधिक कुरा हो । लिड गर्ने एजेन्डाले नै हो । फेरि अहिले देउवा पक्षबाट जितेको मानिस उहाँसँगै बसिरहन सक्छ वा पर्छ भन्ने पनि होइन । चुनाव जितिहालियो अब देउवा गुट रहँदैन भनेर अर्को गुटमा जानसक्छ ।
त्यसैले दबाब शेरबहादुर देउवालाई पनि देख्छु म ।
कांग्रेस पार्टी पनि बुढो भयो, कांग्रेसीहरू लेखपढमा पनि खासै मन लगाउँदैनन् । विचार, बहस र मन्थन गर्दैनन्; खाली बीपीको नाम भजाउँछन् भन्ने आरोप लाग्ने गरेको छ । लोकतन्त्र कांग्रेसको देखाउने दाँतमात्र हो भन्नेहरू पनि छन् । यो महाधिवेशनले उनीहरूलाई कस्तो जवाफ दियो ?
बुझ्नुपर्ने कुरा– कांग्रेस भनेको मोनोलिथिक स्ट्रक्चर होइन । अहिले प्रचण्डले वा केपी ओलीले जस्तो पार्टीभित्र बोल्नासाथ देउवाले भनेको कुरा हुबहु लागू भइजान्छ भन्ने होइन । अहिले प्रचण्डको पार्टी र केपी ओलीको पार्टीमा उहाँहरूले बोल्यो कि सकियो । तर‚ कांग्रेस त्यस्तो होइन । बीपी कोइरालालाई पनि सभापतिमा भूदेव राईले चुनौती दिनुभएको हो । गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिनुभयो । २०४८ सालमा कार्यवाहक रहेका किसुनजीलाई सर्वसम्मत गर्नुबाहेक कांग्रेसका हरेक महाधिवेशनमा नेतृत्व चुनावबाटै चुनिएको छ । यसको अर्थ लोकतान्त्रिक अभ्यास नै भएको हो । यसैपटकको कुरा गर्दा सभापतिमा जसले जित्नुभयो उहाँकै प्यानलका सबै आएनन् । महामन्त्रीमालगायत अरू पदाधिकारीमा आएका अनुहारहरू धेरैको विश्वास पाएर आएका हुन् नि ।
विमलेन्द्र निधि र प्रकाशमान सिंहका सामुन्ने शेखर कि शेरबहादुर भन्ने अप्सन थियो । उहाँहरूले आफूभन्दा जुनियर शेखरसँग भन्दा सिनियर शेरबहादुरसँग काम गर्न कम्फरटेबल महसुस गर्नुभयो होला । यसलाई त्यसरी नै लिने हो । कुनै आरोप प्रत्यारोप जरुरी छैन । उहाँहरूले लामो समय शेरबहादुर देउवासँग काम गर्नुभएको छ । शेरबहादुर देउवा सबैलाई मिलाउन माहिर पनि हुनुहुन्छ । उहाँले हरेक पटक मिलिजुलि सरकार हाँक्नुभएको छ । उहाँमा सबैलाई मिलाएर लैजाने खुबी छ । यो उहाँको कुरा भयो । तर‚ यो महाधिवेशनले केवल औपचारिकतामात्र पूरा गरेको होइन‚ यसका निकै अर्थ छन् । यसले कांग्रेसको जीवनमा त्यो पनि लामो समयसम्म र अर्कातिर राष्ट्रिय राजनीतिमै प्रभाव पार्नेछ ।