सिटिजन्स बैंकले सुरु गर्यो किओस्क बैंकिङ सेवा
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकका वित्तीय आवश्यकताहरू पूरा गर्न किओस्क(केआईओएसके) बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार बैंकका अन्य शाखाहरूमा समेत विस्तार गरिने जानकारी दिएका छन् ।
किओस्क मार्फत प्रारम्भिक रूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यसाथ सेवा थालिएको बताएको छ ।
सिटिजन्स बैंकले हालसम्म देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ्ग इकाई हरूबाट करिब १२ लाख ८० हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।