‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट पुग्नुपर्‍याे’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । ‘गणतन्त्रलाई कहीँ न कहीँ उल्ट्याउने कोसिस भइ नै रहेको छ,’ शुक्रबार नेकपा मसाल (केन्द्रीय सम्पर्क केन्द्र) सँगको एकता समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध र आन्दोलनहरूबाट परास्त भएका सामन्तीहरू, राष्ट्रिय स्वाधीनताका विरुद्ध गतिविधि गर्ने दलालहरू र त्यसको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू एकातिर छन् भने हामी क्रान्तिकारी, वामपन्थीहरू एकातिर छौँ । हामीले लड्नुपर्ने छ । त्यसका लागि चाहिने भनेको एकता नै हो, अझ वामपन्थी एकता नै हो ।’

माओवादीको एजेन्डाबाट स्थापित राजनीतिक उपलब्धिहरूलाई केही तत्वले नसहनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘मैले प्रतिनिधि सभामा पनि भनेको छु, आगोसँग नखेल्नु भनेर । तपाईंहरूले सम्झिनुभएको होला । आगोसँग खेल्दा के भयो, बालुवाटारबाट बालकोट पुगियो । ६ वटै प्रदेश सरकार चट भयो । यही भयो । यस्तै हुन्छ । माओवादी क्रान्तिकारीहरूसँग नखेल्नू । यो राम्रो हुँदैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘विदेशी दलालहरूको अगाडि आत्मसर्पण गर्ने नेता’ को संज्ञा दिँदै प्रचण्डले वामपन्थीहरू त्यस्तो नहुने जिकिर गरे । ‘सुनारको सय चोट, लोहारको एकै चोट हो । हामीले यस्तै सन्देश दिन्छौँ । यो एकीकरणबाट हामीले कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ बनाएरउन सकिन्छ भनेर सन्देश दिएका छौँ । हामी विदेशी दलालहरूको अगाडि आन्मसमर्पण गर्दैनौँ । केही तत्वहरूलाई प्रतिक्रान्तिकारीहरूको अगाडि आत्मसमर्पण गरिरहेका छन् । हामी त्यसो गर्दैनौँ । अब तिनीहरूको षड्यन्त्र चल्नेवाला छैन ।’

यस्तै प्रचण्डले ओलीले आफ्नो दलसँगको एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *