राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी ?

काठमाडाैँ । विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा(माओवादी केन्द्र)ले भोलिदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।  राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् ।

माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ । सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने भएका छन् ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् । त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा आजको स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । बैठकपछि प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिए ।

कुन प्रदेशबाट कति सहभागी
माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश-१ बाट ९६, प्रदेश-२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

यो पनि : बरु पार्टीको नाम फेरिन्छ, फेरिँदैन नेतृत्व

अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि सङ्ख्या एक हजार ६३१ जना पुग्नेछ । माओवादीले पहिलो पटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्य रूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडासम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो । आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्‍यो । प्रदेश-२ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ । गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो । वाग्मती र प्रदेश-१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ ।

वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेल नेतृत्वको वाग्मती प्रदेश समितिले आज मात्रै आफ्नो पदभार ग्रहण गरेको छ । सहमति हुन नसकेपछि माओवादीले मतदान नै गराएर दुई प्रदेशको नयाँ नेतृत्व चयन गरेको हो । प्रदेश–२ को प्रदेश समिति मात्रै गठन गरिएको छ । गण्डकी प्रदेशमा अध्यक्ष मात्रै चयन गरिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा पनि अध्यक्ष मात्रै चयन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश समिति चयन गरिएको छ । बाँकी रहेका गैरभौगोलिक प्रदेशको पनि नेतृत्व चयन भएको छ ।

अध्यक्षमा छैन चासो, महासचिवमा दाबी बढ्दै
माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरूले दाबी पेस गरिसकेको अवस्था छैन ।

पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिक रूपमा नेताहरूले दाबी गरिरहेका छन् । सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इन्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दाबी गरेका छन्। यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेका छन् । यस्तै आज मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दाबी पेस गरेकी छन् ।

तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालेकाले भुसालले आफू महासचिवका लागि योग्य रहेको दाबी पेस गरेकी हुन् । माओवादीको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

थप 
माओवादी दोस्रो तहका नेताहरू : चुनाव लड्न डर, आशीर्वादकै भर ?

माओवादीको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरे । वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरे । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको छ । महानगर, नगर र पालिकाबाट चयन भएकाले प्रदेश समिति निर्वाचित गरेको छ । प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेस गर्ने दाबी गरेको छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने सङ्कल्प गरेका छन् । टुटफुटको शृङ्खलाबाट अगाडि बढेको माओवादीलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ सङ्कल्प गर्नुभएका प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आएका छन् ।

पार्टीलाई कमीकमजोरी सच्याएर एउटा क्रान्तिकारी पार्टीका रूपमा, एउटा अन्तर्राष्ट्रवादी पार्टीका रूपमा, र समाजवादी क्रान्ति नेता पार्टीका रूपमा यसलाई रूपान्तरण गर्ने दोसाँधमा आफू रहेको भन्दै प्रचण्डले राष्ट्रिय सम्मेलनबाट विचारमा प्रष्टता आउने दाबी गरेका छन् । नेकपा(एमाले) र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादीले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दाबी गरिरहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

त्यसो त अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेज पेस गरेका छन् । दस्ताबेज कुन दिशामा केन्द्रित भएको छ भन्ने बारेमा माओवादीको नेतृत्वले कुनै जानकारी नदिए पनि निरन्तरतामा क्रमभङ्गता हुने दाबी गरिएको छ । -रमेश लम्साल/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *