माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आज

काठमाडाैँ । माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा महाधिवेशनकाे उद्घाटन हुने भएकाे हाे ।

शनिबार बसेको स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको थियाे तर, महाधिवेशन गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसैलाई महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गरेको छ । ‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान-बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ ।’

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ । शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए । उक्त गाडीमा ल्याबसहितको उपचार सेवा हुनेछ । साथै महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्थापन गर्ने भएको छ ।

आज उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू राजधानी आइपुग्ने क्रम जारी छ । माओवादी केन्द्रले विभिन्न कमिटीबाट सहभागी हुने प्रतिनिधिको संख्या यसअघि नै टुंग्याइसकेको छ । जसमा सम्मेलन आयोजक समितिका एक सय ७९, सल्लाहकार समितिका एक सय ४९, ज्येष्ठ कम्युनिस्ट समितिका एक सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट एक सय दुईजना र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् ।

त्यस्तै, प्रदेशहरूबाट आठ सय तीनजना छनोट भएर आउनेछन् । प्रदेश १ बाट ९६, प्रदेश २ बाट एक सय ६, बागमतीबाट एक सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट एक सय पाँच, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना सहभागी हुनेछन् । यसरी नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्ष प्रचण्डले गरेपछि  थप एक सय ४८ जना प्रतिनिधि महाधिवेशनमा उपस्थित हुनेछन् ।

बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र संगठनात्मक प्रतिवेदन र देव गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रमा २५ वटा समूह बनाएर छलफल हुनेछ । सबै समूहलाई छलफलका लागि कमलादीमा स्थान अभाव भए केन्द्रीय कार्यालय पेरिसडाँडामा व्यवस्था गर्ने माओवादीको तयारी छ । यी काम सकेर नयाँ नेतृत्व चयनमा पनि जाने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *