सम्मेलनलाई महाधिवेशन बनाइएकोबारे प्रचण्डको ‘ब्रिफिङ्ग’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गरेकाे छ । यसअघि माओवादीले हेटौंडामा सातौं महाधिवेशन सम्पन्न गरेका थियाे । शुरूमा पहिलो सम्मेलनकाे तयारी गरेकाे माओवादीले अन्तिम प्रहरमा आएर महाधिवेशन सम्पन्न गर्ने भएकाे हाे ।

शनिवार साँझ बसेको स्थायी कमिटी बैठकमा सम्मेलनलाई महाधिवेनकै रूपमा फत्ते गर्नेबारे प्रस्ताव गरिएको थियो । यसपछि आइतबार (आज) बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णयलाई अनुमोदन गरेर सम्मेलन नभइ महाधिवेशनकै रूपमा सम्पन्न गर्ने निष्कर्ष निकालेकाे हाे ।

बैठकमा अन्तिम चरणमा आएर सम्मेलनलाई किन महाधिवेशन बनाइयो भन्नेबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ्ग गरेका थिए । उनले ब्रिफिङ्गका क्रममा यसो भनेका छन्ः—

हामीले सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटोलगायतका बारेमा विस्तारपूर्वक छलफल गर्नेछाैँ, जुन अरू पार्टीहरूले गरेका छैनन् । त्यसकारण यो सबै प्रक्रिया पुर्‍याएकाेले महाधिवेशन भन्नलायक र उपयुक्त छ भन्ने त्यसले पनि देखायाे । हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दैछौँ । त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो । त्यसैले यसाे भयाे ।

हिजो साँझ हाम्रो स्थायी कमिटीको बैठकमा सम्मेलनलाई राष्ट्रिय महाधिवेशनको रूपमा सम्पन्न गर्न उचित हुन्छ भन्ने समझदारी भएपछि अहिलेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने भन्ने निर्णय गरियो । त्यो निर्णयअनुसार मैले कमरेडहरूको अगाडि यो प्रस्ताव प्रस्तुत गर्दै छु । प्रस्ताव प्रस्तुत गर्नुको कारणको पछाडि म छोटोमा मात्रै भन्छु।

पहिलो कुरा त हामीले यो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने प्रक्रियामा जस्तो प्रक्रिया र विधि अवलम्बन गर्‍याैँ, सदस्यता नवीकरणदेखि वडाहरूमा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि त्यहाँ प्रतिवेदन पारित गर्ने र नेतृत्व चयन गर्नेसम्मका कामहरू गर्‍याैँ । त्यसैगरी पालिकाहरूको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचन पनि गर्‍याैँ । त्यसैगरी प्रदेश सम्मेलनमा पनि पार्टी केन्द्रको तर्फबाट पनि अब हामी सम्मेलनमा कुन लाइनमा जाँदै छौ भन्ने कुराको प्रस्तुति पनि गर्‍याैँ । त्योसँगै प्रतिनिधि र कमिटीको निर्वाचन प्रक्रिया पनि सम्पन्न गर्‍याैँ, केही मात्र बाँकी होला । राष्ट्रिय सम्मेलनका लागि पनि प्रतिवेदन, विधान संशोधन प्रस्ताव र नेतृत्व पनि यही केन्द्रीय समिति बस्दै छैनाैँ ।

हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍याैँ र गर्दैछौँ । अब प्रस्तुत गर्ने प्रतिवेदन र विधान अनि नेतृत्वको निर्वाचनको तलदेखि माथि सम्मको समग्र प्रक्रियाले सम्मेलन भनिराख्नुपर्ने हामीलाई लागेन । यो त महाधिवेशन नै हो, फेरि अरू प्रमुख पार्टीहरूले महाधिवेशन गर्दा हाम्रो जति विधिपूर्वक देखिएन । त्यो हामीले पूर्वाधार र काम पूरा गरेको देखियो । तेस्रो कुरा राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दैछौँ ।

सम्मेलनमा औपचारिकता पूरा गरौँ भन्ने मात्रै होइन । सम्मेलनमा विश्व परिस्थिति,राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दैछौँ ।

अनि हामीले वैधानिक र कानूनी ढङ्गले के हुन्छ भनेर केन्द्रीय हाम्रो समितिकै सदस्य कमरेड मुक्ति प्रधानलाई यसको वैधानिक र कानूनी पाटो के हुन्छ निर्वाचन आयोगसँग पनि संविधान तथा कानूनकाे पाटो हेर्नुपर्‍याे भनेर उहाँलाई जिम्मा लगाइयो । उहाँले बुझ्दा भेला, सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनुभयो भने महाधिवेशनभन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आयो ।

हामीले संविधान पनि हेर्‍याैँ, त्यहाँ महाधिवेशन, भेला यति वर्षमा गर्नुपर्छ भन्ने छैन, बरु ५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ । त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्ताबेज र विधानको महत्त्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दैछौँ भनेर राष्ट्रिय सम्मेलन नै भन्नुपर्छ भन्ने छैन ।

दोस्रो अहिले भनिएन भने विधानमा सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्छ भन्ने छ । त्यसले गर्दा तुरुन्तै महाधिवेशन गर्नुपर्ने भयो । दोस्रो निर्वाचन आयोगको हामीमाथि रहिरहने भयो, निर्वाचनमा गएका हुन्छौँ, कता हुन्छौँ तर खोइ महाधिवेशन भनेर आयोगले भन्यो भने हामीलाई प्रेसर हुने भयो । हाम्रो अनुकूलतामा त महाधिवेशन गरी नै हाल्छौँ, दुई वर्ष अढाई वर्ष जहिले पनि गर्न सक्छौँ, तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ त्यो तनावमा हामी किन बस्ने ? एकछिनलाई कसैले अस्तिसम्म सम्मेलन भने आज महाधिवेशन भन्लान् तर त्यसको हामी मजाले जबाफ दिन सक्छौँ । यसरी हामीले महाधिवेशन नै गर्ने भन्ने सहमित भयाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *