प्रधान मन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई 

काठमाडौँ । प्रधान मन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एफीएफले जितको छ। आइतबार भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

फाप्ला क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा प्रदेश एकले जितका लागि ६८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

एपीएफको जितमा ममता चौधरी र ज्योति पाण्डेले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । ज्योति ३९ बलमा ३६ रन बनाएर अविजित रहँदा उनलाई ममता चौधरीले २३ बलमा १९ रन बनाएर साथ दिएकी थिइन । त्यसअघि ओपनर इन्दु वर्मा ५, रोमा थापा ४ र  राजमती ऐरी शून्य रनमै आउट भए पनि पाण्डे र चौधरीले एपीएफलाई जित दिलाए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रूपमा अप्सरी बेगमको ११ रन रह्यो ।

अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। पुरा ओभर खेले पनि कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन नसक्दा प्रदेश एक कमजोर योगफलमा समेटिन बाध्य भयो। एपीएफका लागि सिता रानामगरले ३,  रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *