फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो ।

महासंघको साधारण सभाले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागाईँ र सचिवमा राजकुमा दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भएका हुन् ।

महासंघको साधारण सदस्यमा हरिकुमार शर्मा, अशोककुमार कुवँर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् । एशोसिएटतर्फको सदस्यमा अजयकुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन् । आजीवन सदस्यको तर्फबाट ओम प्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले फर्निचर तथा फर्निसिङ् व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री यादवले केही वर्षभित्र काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशिल रहेको उल्लेख गरे । उनले भने, ‘तीन वर्षमा वन पैदावारमा मुलुकलाई आत्मानिर्भर बनाउने र ५ वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ ।’

त्यस्तै महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेले फर्निचर तथा फर्निसिङ् ब्यवसायमा प्रयोग हुने मूख्य कच्चा पदार्थ काठ सहज रुपमा उपलब्ध नहुँदा व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको बताए । उनले यस व्यवसायमा दक्ष कामदारको अभाव, वार्षिक ७ अर्ब बढी रुपैयाँको काठ आयात गर्नुपर्ने बाध्यता, सरकारी कार्यालयमा आयातित सामाग्रीहरुलाई प्राथामिकता दिइने र सरकारी कार्यालयले आह्वान गर्ने ठुला टेण्डरमा यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने प्रावधान राखेर टेण्डर आह्वान गर्ने लगायतका समस्या रहेको बताए ।

साथै उनले उद्योगी व्यवसायिहरुलाई प्रत्क्षय रुपमा प्रभाव पार्ने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको एलसी मार्जिनसम्बन्धी व्यवस्थामा काठका कच्चा पदार्थ एवम् तयारी फर्निचर आयात सम्बन्धमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे ।

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *