राष्ट्रिय सभा निर्वाचनमा निरीह महन्थ !

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निरीह देखिएको छ । महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा निर्वाचनमा निरीह देखिएको हो । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारी दर्ता गराउँदा लोसपा भने निरीह बनेको हो ।

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले जित्ने दाबीसहित उम्मेदवारी दर्ता गराउँदा लोसपा भने आफ्नै पकड प्रदेश नं. २ मा समेत हच्किएको छ ।

जसपाबाट छुट्टिएर बनेको लोसपाले प्रदेश नं. २ मा श्यामसुन्दर सरदार र रूपा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सरदार समानुपातिकको बन्द सूचीमा रहेकाले उनको उम्मेदवारी दर्ता हुन सकेन । यसपछि लोसपाले यादवको मात्रै उम्मेदवारी दर्ता गराएको छ ।

लोसपा नेता केशव झा उम्मेदवार मात्रै बनाएर नहुने तर्क गर्छन् । ‘उम्मेदवार मात्रै बनाएर पनि के गर्नु ? उम्मेदवार बनेका नेताहरूलाई दुःख मात्रै हुन्छ । यसको मतभार निश्चित नै हुने हो । यसैले पनि अरु प्रदेशमा जोड नगरेका हौँ ।’

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाले गठबन्धन बनाएका छन् भने एमाले अर्को खेमामा देखिएको छ । तर, लोसपा यी दुवै समूहमा पर्न सकेन । प्रधान मन्त्रीमा शेरबहादुर देउवालाई समर्थनकाे मत दिएकाे लोसपा सत्तारुढ गठबन्धनमा पनि सहभागी हुन सकेको छैन ।

राष्ट्रिय सभाको निर्वाचनमा भने लोसपालाई सत्तारुढ गठबन्धनले च्याप्छ भन्ने आशा थियो । तर, त्यो भएन । लोसपाका एक नेता भन्छन्, ‘सत्तासीन गठबन्धनसँग कुरा पनि भएन । कुरा गर्ने र चुनावी सहमति गर्ने भन्ने हाम्रो पार्टीमा भएपनि त्यो भएन । अहिले ठिकै छ भन्नेमा छाैँ ।’

प्रदेश नं. २ मा लोसपाले एमालेसँग पनि गठबन्धन नसकेपछि अध्यक्ष ठाकुरको निर्णय क्षमतामाथि नेताहरूले प्रश्न उठाउन थालेका छन् । केन्द्रमा जस्तै भोलि–भोलि भन्दा प्रदेशमा पनि बिग्रिएको ती नेता बताउँछन् । प्रधान मन्त्री देउवा भने सरकारमा लोसपा सामेल हुँदा राम्रै हुने विश्लेषण गरेर बसेका छन् ।

त्यसो त लोसपाले देउवाले रुचाएका एमसीसीको पक्षमा रहने निर्णय गरिसकेको छ । यसकारण पनि पछिल्लो समय देउवाले लोसपाप्रति राजनीतिक सदिच्छा देखाउने गरेको बताइन्छ । देउवा, एमसीसी संसद्‌बाट पारित भइहालोस् भन्ने चाहना राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *