डा. शेखरले बोलाए आफूनिकटको छुट्टै भेला
काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै भेला बोलाएका छन् । सभापतिका प्रत्याशी कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन् ।
भेलाको तयारीस्वरुप कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका थिए । ‘हाम्रो भेला दिउँसोका लागि तय भएको हो, मंगलबार त्यसको तयारीका सन्दर्भमा नेताहरू बसेर छलफल गर्नुभएको छ,’ केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘महाधिवेशनपछि पार्टीभित्रको शक्ति संघर्षमा नयाँ ध्रुवीकरणबारे छलफल हुन्छ, महाधिवेशनको समीक्षा पनि गर्छौँ ।’
कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतसँग रणनीतिक छलफल गरेका थिए । आज कोइराला पक्षबाट निर्वाचित सबै पदाधिकारी, पदाधिकारीका उम्मेदवार, केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यका उम्मेदवारहरू सहितको भेला राखिएको हो । भेला दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्नेछ ।
महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले दुई बैठक गरेका छन् भने प्रदेश मन्त्रिपरिषद् विस्तार, राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट वितरण र १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाले १३ केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ । उनले कोइराला पक्षका नेतालाई प्राथमिकता दिएका छैनन् ।
आफ्नो प्यानलबाट पराजित उपसभापति, महामन्त्री र सह महामन्त्रीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे पनि डा. कोइरालाको प्यानलबाट पराजितलाई मनोनीत नगरेका हुन् । विधानले सभापतिले समावेशी सिद्धान्त र एक तिहाइ महिला सहभागितालाई सुनिश्चित गर्दै ३३ जना केन्द्रीय सदस्य मनोनीतको व्यवस्था छ । सोअनुसार देउवाले अब २० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन् ।