महालक्ष्मी विकास बैंक र इजिलिङ्कबीच समझदारी
काठमाडौ । महालक्ष्मी विकास बैंकले रेमिट्यान्स सम्बन्धी थप सेवा उपलब्ध गराउन इजिलिङ्क रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिङ्क रेमिटेन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपाल भित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकले विश्वका जुनसुकै ठाउँबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकलाई रेमिट्यान्स सेवा दिँदै आएकाे छ ।
यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।