‘दुई वर्ष भूमिगत हुँदा कार्यकर्ताहरू अन्तै सरिसकेछन्’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिष्ट आन्दोलनलाई सफलीभूत तुल्याउन आफ्नो पार्टी लागिरहेको बताएका छन् । शहीद तथा बेपत्ता योद्धाहरूको योगदान र राज्यको दायित्व विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई काठमाडौँबाट सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।
यसबीचमा आफू धेरै जनताहरूको घरमा पुगेको र संवाद गरेको स्मरण गर्दै विप्लवले भने, ‘उहाँ (जनता) हरूसँग कुराकानी हुन्थ्याे । उहाँहरूले यसरी कम्युनिष्ट आन्दोलन सफल हुन्छ त भनेर सोध्नुभयो । मैले हुन्छ भनेर भन्थेँ । यत्तिकै भनेको होइन, हाम्रो दलले यसको सफलताका लागि हर्दम राजनीतिक काम गरिरहेको छ ।’
यस्तै विप्लवले आफ्नो दल दुई वर्ष भूमिगत हुँदा कार्यकर्ताहरू बिनासल्लाह अर्कै दलमा गएको बताए । सम्बोधनका क्रममा विप्लवले हाँस्दै भने, ‘दुई वर्ष त जनयुद्धकै जसरी भूमिगत भइयो । तर, पछि वार्ता भयो र यहाँसम्म आयौँ । त्यसपछि आउँदा त को कता पुगियो पुगियो । कोही एकीकृत समाजवादीतिर, कोही माओवादी केन्द्रतिर पो पुगिएछ । यसो हेर्दा त एउटै घरभित्र पनि राजनीतिक मोर्चा बन्नेजस्तो । फरक पार्टीजस्तो ।’
विप्लव नेतृत्वको नेकपाले ध्वंसात्मक गतिविधिलाई बढवा दिएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । तर, पछि सोही सरकारले ०७७ फागुन २१ गते मूलधारको राजनीतिमा ल्याएको हो ।