रमेश खरेलकाे ‘नेपाल सुशासन पार्टी’ निर्वाचन आयोगमा दर्ता
काठमाडौँ । पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्रसमेत लिएको छ । पार्टीमा अध्यक्षमा खरेल, पाँच उपाध्यक्षहरूमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन् ।
यस्तै महासचिवमा गोविन्द गिरी छन् । बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन् । सचिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मिनकुमार श्रेष्ठ रहेका छन् ।
अध्यक्ष खरेलले बिहीबार विज्ञप्ति जारी गरी सुशासन पार्टीले हिमाल, पहाड, तराई, मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण, समन्यायिक सेवामा जोड दिने बताएका छन् ।
लामो समययता खासगरी भ्रष्टचार, सामाजिक विसंगतिलगायतका विषयहरूमा खह्राे बोल्दै आएका पूर्वडिआइजी खरेलले मंसिर २४ गते नेपाल सुशासन पार्टी गठन गरेको बताएका थिए ।