माङ्गेना (कविता)

यतिबेला
सातो हराएर
झुकेको छ तिम्रो शिर
निदाएका छन् सहस्र तेजिला आँखाहरू
बाटिएका छन् अनौठो गरी परेलाहरू
ओइलाएका छन् मनका धर्साहरू

जन्मेदेखि अहिलेसम्म
छैन भएको तिम्रो माङ्गेना
येवा, साम्बा, फेदाङ्मा बोलाएर
झुकेको शिर उठाउन
गर्नु छ दुवो-ढुङ्गो छोएर तिम्रो माङ्गेना

तङसिङ तक्मा गर्नु छ अब
फलाक्दै मुन्धुमी बाचाहरुकासाथ
खोसिएको सातो ल्याउनु छ अव
बजाउँदै झर्के थाल
खिप्दै घुङ्ग्रीङ-मुक्तो

तिम्रो हिँडाइको चालमा
आँखी डाही पो लागे जस्तो छ
तिम्रो घरैभित्र व्यभिचार हुन थालेछ
तिम्रो मनका कोठा कोठामा
पापको कालो रगत बग्न थालेछ
हराएको सातो ल्याउन
बिराएको बाटो पहिल्याउन
तङसिङ गर्नु छ

मैले अब सर्प र कौडीको माला नलगाई भएन
गोलसिमल चराको प्वाँख र दुम्सीको काँडाले
सजिएको असाङ नलगाई भएन

छड्के अम्लारी पेत्तारी नभिरी भएन
नियारा लिङपङ हाङ्मालाई पुकारेर
हराएको सातो नल्याई भएन
बिराएर अलमलिएको
बाटो नसोझ्याई भएन

तिमीभित्र पलाएको आँखीडाहीलाई
दुम्सीको काँडामा जपेको मुन्धुमी मन्त्रले
हानेर नमारी भएन

लर्बराएका ओठहरु ठिक पार्न
लडखडाएका पाइलाहरूको चाल
सही ठाउँमा राख्न
आँखी डाहीले हराएको सातो खोसेर ल्याउन
तिम्रो माङ्गेना गर्नु छ
त्यसपछि
नहराई सातो
नबिराई बाटो

पुग्नु छ हामी
सिद्धिको डाँडा मेन्छ्यायेममा
सिनयुक लाजेले सुन्ने गरी
तेमेन लाजेले सुन्नेगरी
बजाउँदै च्याब्रुङ
सजाउँदै छातीमा सिलाम साक्मा
गर्नु छ माङ्गेना

कवितामा प्रयोग भएका केही शब्दका अर्थ-
माङ्गेनाः याक्थुङ मुन्धुमअनुसार शिर उठाउने अनुष्ठान ।
लिङ्पङहाङ्माः मुन्धुम अनुसार गुरुहरूका पनि गुरु (स्त्री) ।
मेन्छ्यायेमः मुन्धुममा वर्णित पवित्र स्थल । तरुनी उभिएको भनिने यो डाँडा तेह्रथुम, धनकुटा र
ताप्लेजुङकोबीचमा पर्छ ।
सिनयुकः याक्थुङ मुन्धुमअनुसार उत्तरको चीन–तिब्बत ।
तेमेन लाजेः याक्थुङ मुन्धुमअनुसार दक्षिणको भारत ।
सिलाम साक्माः मृत्युको बाटो छेक्ने याक्थुङ लिम्बुको प्रतीक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *