चियाको शक्ति अनुभव गर्न कटेरो

काठमाडौँ । बबरमहलबाट धोवीखोलाको किनारै किनार मैतीदेवीको पुलतिर जाँदा बाटोमा भेटिन्छ ‘कटेरो’ । ‘कटेरो’ अर्थात् क्याफे कटेरो । जहाँ लेखिएको छ- ‘फिल द पावर अफ टी ।’ अर्थात् ‘चियाको शक्ति अनुभव गर्नुहोस् ।’

सजावट नै केही फरक लाग्ने यो कटेरोका सञ्चालक सरोज तामाङ पनि रमाइला छन् । जीवनमा धेरै हण्डर र ठक्कर खाँदै कामका लागि दुबई पुगेका सरोजले त्यहाँ सुत्न समेत नभ्याई पसिना बगाए । जसले पैसा कम तर पाठ बढी सिकायो । त्यसैको जोडबलमा सरोजले ‘कटेरो’ खोलेका हुन् ।

अहिले ३ वर्ष भयो ।
सानैमा उनका बुबा बिते । आमाको हेरचाहमा हुर्किए । पढाई र घर खर्चको भार सरोज कै काँधमा पर्‍याे । काभ्रेपलान्चोकमा जन्मिएका उनी पढ्दै कमाउन वा भनौँ कमाउँदै पढ्न भनेर काठमाडौँ आए । सौभाग्यवश उनले पाँचतारे होटल सोल्टीमा काम पाए । ‘त्यहाँ के काम गर्थेँ भन्नेबारे म सम्झनै चाहन्न, जे-होस् काम सोल्टीमा थियो’ सरोजले त्यो च्याप्टर एकै वाक्यमा बन्द गरिदिए ।

टुमटुम जिन्दगी बाँचेपनि थप कमाउन त्यो काम मनग्ये एन । उनी कामका लागि दुबई गए । सेल्सम्यानको काम गरे । त्यहीबेला उनले त्यहाँको सामान, उत्पादन र निर्यातबारे बुझ्ने अवसर पाए । डेढ वर्ष दुबई बस्दा त्यहाँको ‘क्याफ्टेरिया’ देखे । उनलाई मौलिक शैलीका ती साना-साना क्याफे अनि रैथाने उत्पादन र परिकारले मन जित्यो । आखिर तामाङ शैली र संस्कृतिको मौलिकता उनको रगतमै जो थियो । उनले काम गर्ने ठाउँमा धेरै देशहरूबाट आएका जडीबुटी लगायतका प्रशोधित सामान हुन्थे । तर नेपालबाट त्यहाँ आयात गरिने केही थिएन ।

सरोजलाई चकित पार्ने कुरा के थियो भने त्यहाँ आयात गरेर बेचिने फ्लेवर, चिया, चूर्ण सबैको कच्चा पदार्थ भने नेपालमा प्रशस्त पाइन्थ्यो । सरोज सम्झन्छन्, ‘त्यहाँ एप्पल फ्लेवर, जिन्जर टी भनेर सामानहरू चर्को मूल्यमा बेच्दा म झल्झल्ती मुस्ताङको स्याउ र अदुवाको पाना सम्झिन्थेँ । हाम्रो देशका अवसर सम्झन्थे । लालीगुराँस र पुदिना सम्झन्थेँ ।’

त्यसपछि उनलाई नेपाल फर्कने हुटहुटी बढ्यो, भन्छन् ‘केही गर्न नसके नेपालकै चियापत्ती हालेर चिया खुवाउँछु भन्ने सोच आयो ।’ अनि सरोज नेपाल फर्किए ।

नेपाल मै केही गर्ने जोस, जाँगर र संकल्प त थियो तर पुग्ने पुँजी थिएन । तर खाने मुखलाई जुँगाले के छेक्थ्यो र उनलाई पनि आफूले बनाएको योजनामा काम शुुरु गर्न केहीले छेकेन । सरोजले क्याफे खोल्ने तयारी गरे । जसोतसो आवश्यक रकम जुटाए । उनले सामान्य खालको तर मौलिक पाराको क्याफे खोल्ने योजना बनाएका थिए । आफ्नो योजनासँग मिल्ने ठाउँ खोज्न सरोज काठमाडौँको गल्लीगल्ली पुगे ।

कहीँ भाडादर नमिल्ने कहीँ ठाउँ नै नमिल्ने । बल्ल तल्ल उनले धोवीखोलाको सेतोपुल भन्दा केही तल करिडोरसँगै जोडिएको सटर फेला पारे । ‘यत्तिको ठाउँ पनि भाग्यले पाएको । सटर खोज्नेबेला धुरुक्कै रुनु जस्तो भएको थियो । यहाँ पनि सजिलो छैन बाटो साँघुरो छ । पार्किङ छैन । धक फुकाएर पसलको डेकोरेसन र व्यापार गर्नै पाएको छैन’ दिउरेमा चिया चलाउँदै सरोजले सुनाए ।

सरोजले सटरलाई अलि बेग्लै पाराले सजाएका छन् । बसेर खान रुखका ठुटाका मुडा बनाएका छन्, त्यसमाथि हातले बुनेका मकैका खोस्टाका पिरा राखिएका छन् । भित्तामा कतै हलो त कतै मकैका झुत्ता झुण्ड्याएका छन् । उनको क्याफे कटेरोमा लालटिन, डोको, पेरुङ्गो, खुर्पेटोलगायत ग्रामीण परिवेश झल्काउने सामानले सजाइएको छ । टेबल थोत्रा टायरबाट बनाइएको छ । चिया पिउने चिटिक्कका मट्का छन् । बाबियोको डोरी छ । भित्तामा नेपाली फुटबल टिमको जर्सी र मेस्सीको तस्बिर छ । शायद मेस्सीका फ्यान हुन् सराेज । नजिकै अर्को तस्बिरमा लेखिएको छ ‘कता जाँदैछ देश ?’ बत्तीको वरिपरि चोयाले बुनेर फरकपन दिइएको छ ।

यी चकटीले घर र आमाको सम्झना आउने बताउँछन् सरोज । उनी भन्छन्, ‘यी सबै चकटी मलाई आमाले बनाइदिनुभएको हो ।’ सरोज विदेशबाट फर्किएपछि गाउँ गए । त्यहाँ काठमाडौँमा क्याफे खोल्ने भन्दै सुकेका काठका ठेउका जम्मा पार्न थाले । त्यसो गर्दा छिमेकीले अचम्म मानेको सरोज सम्झन्छन् । कुर्सी बनाएका दुईवटा अलि ठूला ठेउका उनले ७ हजारमा किनेर ल्याएको बताए ।

सरोजले चियामा प्रयोग गर्ने चियापत्ती, मसला, दूधलगायत सबै नेपालको उत्पादन मात्रै रहेको बताए । उनले विदेशमा सयपत्री, मखमली, पारिजात, गुलाब लगायत फूलको चिया र ग्रिन टी बेचेको देखेका थिए । नेपालमा पनि यस्तो चिया बेच्ने इच्छा भएपनि नेपालमा चिया पिउने तरिका नै फरक भएको उनको अनुभव छ । ‘नेपालमा त दूध चिया, कालो चिया, हट लेमन र ग्रिन टी मात्र खोज्ने चलन छ । हामीले यहीँ पाइने जडीबुटी र फूलहरुको फाइँदाबारे बुझाउन अझै कसेका छैनौँ ।’

कटेरोमा दूध चिया, मट्का चिया, रोज चिया, कालो चिया, मसला चिया, कटिङ चिया, यार्सागुम्बा चिया, हट लेमन र नेपाली ग्रिन टी पाइन्छ । सरोजले नेपालमै उत्पादन भएको चियापत्ती बेच्न पनि राखेका छन् । यार्सागुम्बा चियापत्ती पनि खरिद गर्न सकिन्छ । उनले चियासँग खान बेकरी आइटमहरू पनि राखेका छन् । स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले नेपालमा नै उत्पादित केसर (स्याफ्रोन) पनि बिक्रीमा राखेका छन् ।

‘क्याफे कटेरो’को आहा ! लाग्ने सजावट अनि वाह ! लाग्ने चियाको स्वादका साथमा सरोजको फस्र्याइलो शैली बोनसमा मिल्नेछ ।

एउटा सुझाव चाहिँ सञ्चालक सरोजलाई दिनैपर्ने छ- यति मिठो चिया खुवाउने कटेरोले अगाडिपट्टिको फुटपाथ नै छेकेर चियाका मट्का राखेको भने सुहाएन । ‘दुवैतिरका पसलेले फुटपाथ कब्जा गरेकाले बिचमा मैले खाली राखेर पनि के अर्थ र ?’ भन्ने छुट कम्तीमा सरोजलाई छैन किन पनि भने कटेरोको आहा परिवेशमा फुटपाथका मट्काहरुले फिटिक्कै शोभा दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *