एमाले कैलाली अध्यक्षमा रतन थापा विजयी, चन्द ४ मतले हारे
काठमाडौँ । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका प्रत्याशी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए । सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाए । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्द्रबहादुर शाही विजयी भएका छन् ।
कैलालीमा भीम रावल र ओलीनिकट मानिने जिल्ला इन्चार्ज नारदमुनि रानाबीच गठबन्धन बनेको थियो । उनीहरूले चन्दलाई समर्थन गरेका थिए । तर अध्यक्षमा रावलनिकट उम्मेदवार हारे, सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्ण थापा समर्थित थापाले जिते ।