कुँवर र रायमाझी सेमिफाइनलमा

काठमाडौं । कृषि विकास बैंकका टक्कर कुँवर र लुम्बिनी जेनेरल इन्स्योरेन्सका गणेश रायमाझी आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको बैंक तथा इन्स्योरेन्स सिंगलतर्फ कुँवरले एनआईसी एसिया बैंकका रञ्जन खड्कालाई २१–१०, २१–१६ को सेटमा पराजित गरे ।

यसैगरी रायमाझीले इशा एन्ड इसिका इन्भेस्टमेन्टका नारायणप्रसाद गौतमलाई २१–४, २१–१५ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । कुँवरले अन्तिम १६ को खेलमा राष्ट्रिय वाणिज्य बैंकका गुप्त केसीलाई २१–१६, २१–१८ को सेटमा पराजित गरेका थिए ।

सोही विधामा सिटिजन लाइफ इन्स्योरेन्सका अभिषेक बोस र नेपाल एसबीआई बैंकका नवराज जोशीले पनि सेमिफाइनलमा स्थान बनाएका छन् । बोसले राष्ट्रिय वाणिज्य बैंकका सुविन्द्र महर्जनलाई २१–३, २१–८ तथा जोशीले महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्जय कपालीलाई २१–८, २१–१५ ले हराए ।

यस्तै रेगुलर मेन्स सिंगलको पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिन्दवासिनी प्रिन्टिङ एन्ड प्याकेजिङ उद्योगका विशाल खड्काले एनसेलका समाज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । खड्काले पौडेलविरुद्ध २१–११, २१–१९ को जित निकाले । जेस्ट सेभिङ एन्ड क्रेडिटका सुजन थापाले न्यु बीएस इन्टरप्राइजेजका अभिषेक गुरुङलाई २१–१५, २१–१७ को सेटमा पराजित गरे ।

युनिक स्पोर्ट्सका अनिल लाखे र बीएनएम सप्लायर्सका विश्वास नेपाल पनि अन्तिम चारमा पुगेका छन् । क्वार्टरफाइनलमा लाखेले नेसनल एयर पब्लिक ट्राभलका रुपल बाडेलाई २१–५, २१–८ र नेपालले एनसेलका सुकान्त अधिकारीलाई २१–३, २१–११ ले पाखा लगाए । यसअघि जेस्टका थापाले एनसेलका सौरभ शान र लाखेले एनसेलकै रञ्जन शर्मालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

यसैगरी रेगुलर मेन्स डबल्सतर्फ पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विन्दवासीनिका विशाल खड्का र बीएनम सप्लायर्सका विश्वास नेपालको जोडीले महालक्ष्मी विकास बैंकका रत्नबहादुर भण्डारी र गणेशबहादुर साउदलाई २१–१८, २१–६ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नेपाल एसबीआई बैंकका जोशी र युनिक स्पोर्टस्का लाखेले एनसेलका अधिकारी र शानलाई २१–९, २१–१५ ले पाखा लगाए ।

यस्तै सिटिजन लाइफका बोस र नाइग्रा फल्सका एस श्रेष्ठले प्रभु बैंकका सुदेशकुमार देवकोटा र राजु केसीलाई २१–४, २१–३ ले पाखा लगाए । यस्तै कृषि विकास बैंकका टक्कर कुँवर र वसन्त थापाले नेपाल इन्भेस्टमेन्ट बैंकका रामजी केसी र विजेन्द्र सुवाललाई २१–१५, २१–१३ को सेटमा पराजित गरे । रेगुलर मेन्स डबल्समै इसा एन्ड इसिकाका गौतम र न्यु बीएसका अभिषेक गुरुङले प्रभु बैंकका सुरेश कँडेल र मनिराम पोख्रेललाई २१–१२, २१–५ ले पाखा लगाए । महालक्ष्मी लाइफका सन्जय कपाली र डेभिडका एस कटुवालले एनसेलका समाज पौडेल र रञ्जन शर्मालाई २१–१८, २१–९ ले हराए ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकका पुष्पसी थापा र राजु थापाले एनसेलका दीपक पाण्डे र रवीन्द्र यादवलाई पराजित गरे । आरकेस टेड्रिङका आर बानियाँ र जेस्टका सुजन थापाले एभरेष्ट बैंकका सन्तोस भट्टराई र पुष्पराज उप्रेतिलाई २१–११, २१–१० को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । यसअघि कृषिका कुँवर र थापाले वाणिज्य बैंकका केसी र महर्जनलाई २१–१२, २१–१८ तथा इसा एन्ड इसिकाका गौतम र गुरुङले इन्भेस्टमेन्टका काशीनाथ ज्ञवाली र सुजन महर्जनलाई २१–१७, २१–११ को सेटमा पाखा लगाएँदै अन्तिम १६ मा स्थान बनाएका थिए ।

यसअघि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *