स्थानीय चुनावकाे मिति घोषणा गर्न गाउँपालिका अध्यक्षको माग
काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्थानीय चुनावकाे मिति घाेषणा गर्न माग गरेका छन् । सरकारलाई संविधानको धारा २२५ लाई ध्यान दिन आग्रह गर्दै अध्यक्ष राईले भनेका छन्, ‘म गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको ४ वर्ष ६ महिना १९ दिन भएछ, संविधानको धारा २२५ मा गाउँसभाको कार्यकाल ५ वर्षको हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको छ । यसअनुसार जानुपर्दछ ।’
तर, अझैसम्म चुनावको घोषणा नहुने दुखद् भएको अध्यक्ष राईको भनाइ छ । लोकतान्त्रिक देशमा यस्तो हुन नहुने अध्यक्ष राईको तर्क छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका अध्यक्ष राईले थपेका छन्, ‘लाेकतान्त्रिक सरकार र नेपाली कांग्रेस पार्टीलाई सुहाउने कुरा यो हुँदै होइन ।’
अन्य नेताहरूलाई आफूलाई जस्तै निर्वाचित बनेर जनताको सेवा गर्ने अवसर लोकतन्त्रमा निर्वाचनले मात्रै दिने उल्लेख अध्यक्ष राईले गरेका छन्, भनेका छन्— ‘त्यसैले ढिला नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु आवश्यक छ ।’
यसअघि पुस २९ गते निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा आयोगले निर्वाचन ढिलो हुनसक्नेतर्फ सचेत गराउँदै आयोगलाई तयारीको लागि कम्तीमा १२० दिनभन्दा बढी चाहिने बताएका थियाे ।