सुदूरपश्चिममा कोरोनाको ‘बुस्टर डोज’ लगाउने तयारी, जिल्लामा पठाइँदै खोप
धनगढी । सुदूरपश्चिममा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोपको ‘बुस्टर डोज’ लगाउने अभियान सुरु हुने भएको छ । बुस्टर डोज प्रदेशका पालिकाहरुमार्फत लगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अब एक/दुई दिनमा प्रदेशका ९ वटै जिल्लामा अभियानका रुपमा ‘बुस्टर डोज’ दिन सुरु गरिने प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।
‘कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउने अभियान सुरु गर्ने तयारी भइरहेको छ,’ प्रवक्ता कार्कीले भने, ‘अबको एक/दुई दिन भित्रै खोप लगाउन सुरु हुन्छ । ९ वटै जिल्लामा खोप पठाउने कार्य भइरहेको छ ।’
जहाँ खोप उपलब्ध हुन्छ त्यहाँबाट मानिसहरुले खोप लगाउन सक्ने उनले बताए । ‘खोप हिजो मात्रै आयो, आज जिल्लाहरुमा पठाइँदैछ,’ उनले भने । यस प्रदेशका लागि १ लाख पाँच हजार डोज कोभिशिल्ड र ५१ हजार डोज भेरोसेल खोप आएको उनले जानकारी दिए ।
उनका अनुसार बुस्टर डोज पालिकाहरुमार्फत जनताले पाउनेछन् । उनले भने, ‘हामीले खोप जिल्ला स्वास्थ्यमा पठाउँछौं र त्यहाँबाट पालिकाहरुले पाउनेछन् । खोप अभियान पनि पालिकाहरुले नै सञ्चालन गर्नेछन् ।’