नेपालमा कोरोना संक्रमण दैनिक २० हजारसम्म पुग्ने, माघ तेस्रो हप्तादेखि मात्र घट्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा कोरोना संक्रमण केही दिनदेखि लगातार बढी रहेको छ । संक्रमण दर बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ वटामा संक्रमण पुष्टि भएको हो ।

सरकारले यो क्रम अझै बढ्ने प्रक्षेपण गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले आगामी हप्ता कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिलेको भन्दा पनि बढ्ने प्रक्षेपण गरिएको बताए । पौडेलकाअनुसार नेपालमा दैनिक २० हजार जनालाई संक्रमण पुष्टि हुन सक्ने अनुमान गरिएको छ ।

उपलब्ध स्रोत साधनले संक्रमणको अवस्थामा पार्ने असर र भोलीको योजना बनाउन प्रक्षेपण गरिएको बताउँदै डा. पौडेलले माघको तेस्रो हप्ताबाट संक्रमण दर घट्दै जाने बताए । संक्रमण दर घटेर स्थिर अवस्थामा आउन अझै ४ देखि ६ हप्तासम्म लाग्ने डा. पौडेलले जानकारी दिए ।

कोरोनाको संक्रमण बढ्दै गएकाले भीडभाडमा नजान, सकेसम्म घर बाहिर ननिस्कन, निस्कनै परे मास्क अनिवार्य लगाउन, कम्तिमा २ मिटर दूरी कायम गर्नसाबुन पानीले पटकपटक हातमुख धुन, बन्द कोठामा नबस्न विज्ञले सुझाव दिँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *