विषादीलाई बुझौँ, यो विष हो खेलाँची नगरौँ

साहुजी, किराको औषधी दिनुस् त ! सामान्यतया हामी बालीनालीमा लागेका किरा मार्न औषधी मागिरहेका हुन्छौँ । तर वास्तवमा हामीले खेती बालीमा रोग किरा नियन्त्रण गर्न प्रयोग गर्ने रसायन औषधी नभएर विष हुन् । यसले प्रयोगकर्ता किसानलाई मात्र नभएर बालीका उपभोक्ता र पर्यावरणमा समेत ठूलो कुप्रभाव पारिरहेको छ ।

रोग किराको प्रकोप नियन्त्रण गर्न तथा उत्पादन बढाउनका लागि यस्ता विषादी र रसायनको प्रयोग बढी रहेको छ । तर किसानलाई विषादीको पहिचान, प्रयोग, प्रयोगपछिको पर्खिने अवधिलगायतका आधारभूत कुरामा समेत जानकारी नभएको पाइएको छ । जसले गर्दा विषादीको अनियन्त्रित प्रयोग बढिरहेको छ । गाउँमा किसानले मात्र होइन शहरका छत र बरण्डामा समेत तरकारी लगाउनेहरूले समेत विषादीको अन्धाधुन्ध प्रयोग गर्ने गरेको पाइन्छ । जसले मानिसको स्वास्थ्यदेखि पर्यावरणलाई समेत नकारात्मक असर पुगिरहेको छ । धेरै फलाउने र छिटो फाइदा लिने उद्देश्यले अनियन्त्रित रूपमा प्रयोग गरिने विषादीका असरको सिकार सुरुमा स्वयम् किसान र क्रमशः उसको परिवार, छरछिमेकी र उपभोक्ता पर्न जान्छन् । दीर्घकालमा त यसको असर सिङ्गो पर्यावरण अर्थात् मानवसहित चराचर जगतमै पर्ने गरेको छ । अहिले नै माहुरी लगायत कृषिका लागि मित्रु वर्गमा पर्ने किटपतंग मासिन थालेको चिन्ता शुरु भइसकेको छ । वैज्ञानिकहरूले पटक पटक यसबारे ध्यानाकर्षण गराइरहेका पनि छन् । यस्तै गरी विषादीको प्रयोग र अवैज्ञानिक खेती प्रणाली चलिरहने हो भने यसको घातक परिणामहरू दिन दुगुना रात चौगुनाका दरले बढ्ने निश्चित जस्तै छ ।

धेरै फलाउने र छिटो फाइदा लिने उद्देश्यले अनियन्त्रित रूपमा प्रयोग गरिने विषादीका असरको सिकार सुरुमा स्वयम् किसान र क्रमशः उसको परिवार, छरछिमेकी र उपभोक्ता पर्न जान्छन् । दीर्घकालमा त यसको असर सिङ्गो पर्यावरण अर्थात् मानवसहित चराचर जगतमै पर्ने गरेको छ ।

जानकारीको अभावका कारण विषादीको प्रयोग गर्नै नपर्ने कतिपय अवस्थामा समेत विषादीको चरम प्रयोग हुने गरेको छ, हाम्रै घर वरपर पाइने निम, तीतेपाती, बनमारा, बोझो, बकाइनो, हातिबार, सयपत्री फुल, गाई बस्तुको गहुँत, आदिको मिश्रण गरेर घरमै बनाएको जैविक विषादीले नियन्त्रण हुने रोग किराको नियन्त्रण गर्न समेत बजारबाट एकदमै घातक तथा महँगो मूल्य पर्ने विषादीको खरिद र प्रयोग भई रहेको छ । यसले एकातिर हाम्रो रैथाने ज्ञान र बस्तुको उपभोग घटिरहेको छ भने अर्कोतिर विषादीको दुष्प्रभाव भोग्नुपरिरहेको छ । यसका लागि बर्सेनि अरबौँ रुपैयाँ समेत बिदेसिइरहेको छ ।

खेती गर्ने तरिकामै परम्परागत विधिमा परिवर्तन गरेर, रोग प्रतिरोधात्मक बिरुवाको विकास र प्रयोग गरेर, कानुनी विधि अपनाएर, एकीकृत शत्रु जीव व्यवस्थापनलगायतका विधि अनुसरण गरेर समेत रोग किराको नियन्त्रण गर्न सकिन्छ । तर तत्कालको सहजताका लागि बजारबाट विषादी खरिद र प्रयोग गर्दाको दीर्घकालीन असर भने भयावह छ । विषादीको प्रयोगले क्यान्सर, प्रजनन गडबडी लगायतका असरहरू देखिन थालिसकेको विभिन्न अध्ययनले देखाएका छन् । बढी विषादी प्रयोग भएका नेपालकै कतिपय तरकारी उत्पादन धेरै हुने ठाउँहरूमा गरिएका अध्ययनले त्यहाँका किसानमा क्यान्सर, बाँझोपन लगायत प्रजनन समस्या देखिएका छन् । कतिपय विषादी तुलनात्मक रूपमा कम विषालु भए पनि उक्त निषादीसँगको सम्पर्कको माध्यम र अवधिले गर्दा असर ज्यादा हुन सक्छ ।

भुल्नै नहुने कुरा के हो भने यी औषधी होइन विषादी हुन् । विषादी भनेको विष हो । विषले साना किरा वा कुनै रोगलाई मात्र नभएर तपाईँ हामीलाई पनि मार्छ ।

विषादी प्रयोग गर्नै पर्ने अवस्थामा समेत विषादीको खोल वा डब्बामा हुने संकेतको मात्रै ख्याल राख्ने हो भने पनि यसको नकारात्मक असर कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले गरेको वर्गीकरणअनुसार विषादीको बट्टामा हुने हरियो, निलो, पहेँलो र रातो रङको संकेतले विषादीको कडापनलाई झल्काउने हुँदा विषादी खरिद र प्रयोग गर्दा उक्त रङको विशेष ख्याल राख्नुपर्ने हुन्छ । लेखपढ समेत गर्न नसक्ने किसानले समेत सहजै बुझ्ने गरी रङको चिन्ह लगाइएपनि व्यावसायिक खेती गर्ने किसानहरूले समेत यसलाई बेवास्ता गरेको पाइन्छ । सामान्य प्रकृतिका रोग किराको नियन्त्रण गर्न सम्भव भएसम्म यस्ता विषादीको प्रयोग गर्नु नै हुँदैन र गर्नैपरे पनि सुरुमा हरियो रङको संकेत भएका विषादीको प्रयोग शुरु गर्नु पर्छ र आवश्यक परेको खण्डमा मात्र क्रमशः निलो वा पहेँलो रङको सङ्केत भएका विषादी प्रयोग गर्न सकिन्छ । तर सुरुमै पहेँलो रङ्गको संकेत भएको विषादी प्रयोग गरी सकेपछि निलो वा हरियो रङको संकेत भएको विषादी प्रयोग गर्दा रोग किरा नियन्त्रण गर्न कठिन हुन्छ । हाल प्राय किसानहरूले भोगेको समस्या समेत यही हो । यसको अर्थ हो पहिले नै कडा विषादी प्रयोग गरिसकेपछि त्योभन्दा कम कडा विषादीले रोग किरालाई छुँदैन ।

त्यस्तै विषादी प्रयोग गर्दा नाक, मुख, आँखा तथा छाला छोपिने गरी सुरक्षित कवचको प्रयोग गर्नुपर्छ । विषादी प्रयोग गरिसकेपछि राम्रोसँग साबुन पानीले मिचिमिची हातखुट्टा धुने तथा नुहाउने गर्नुपर्छ । प्रयोग भैसकेका विषादीका खोल तथा बट्टाको समेत सही ढंगले विसर्जन र व्यवस्थापन गर्नुपर्छ ।

मानव जीवन र पर्यावरणलाई धेरै नै घातक हुने भनी प्रतिबन्ध गरिएका विषादीको प्रयोग कुनै हालतमा गर्नु हुँदैन । हाल नेपालमा २४ प्रकारका विषादी प्रतिबन्धित छन् । प्रतिबन्धित विषादी समेत खुल्ला सिमानाको फाइदा उठाउँदै भित्र्याइने कारणले विशेष गरी तराईका जिल्लाहरूमा व्यापक प्रयोग हुने गरेको पाइएको । यसको नियन्त्रण गर्ने तर्फ सबै सचेत हुन आवश्यक छ ।

अत: विषादी प्रयोग गर्नु अघि आफूले उक्त विषादी राम्रोसँग चिन्नु पर्छ । वा प्राविधिक परामर्श लिनुपर्छ । विषादीको भाँडोमा लेखिएको निर्देशन पालना गर्नुपर्छ । साथै उचित मौसम र मात्रामा विषादीको प्रयोग गर्नुपर्छ । भुल्नै नहुने कुरा के हो भने यी औषधी होइन विषादी हुन् । विषादी भनेको विष हो । विषले साना किरा वा कुनै रोगलाई मात्र नभएर तपाईँ हामीलाई पनि मार्छ ।

(कृषि विज्ञानमा स्नातक गरेका दाहाल मोरङ बेलबारी नगरपालिकाको, कृषि विकास शाखामा कार्यरत छन्)

लेखकबाट थप
-माटोलाई माया गरौँ
-को हुन् किसान‚ किन गरिन्छ हेला ?
-कुरिलोबाट मनग्य कमाउन सकिन्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *