पत्रकार एलबी विश्वकर्माकाे निधनबारे महासंघकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधनबारे नेपाल पत्रकार महासंघको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।
महासंघकाे छानबिन समितिले विश्वकर्माकाे निधन आर्थिक अभावकै कारण भएकाे निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।
माघ ६ गते पत्रकार विश्वकर्माको पाटन अस्पतालमा निधन भएको थियो ।
विश्वकर्माको निधनबारे अध्ययन गर्न महासंघले पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
प्रतिवेदनको पूर्णपाठ
मितिः २०७८ माघ १४ गते
प्रेस विज्ञप्ति
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको २०७८ माघ ६ गते बिहान निधन भएको विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले एक सातासम्म लगाएर मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसस्था, घटनासँग जोडिएका अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत कुराकानी गरेर एक प्रतिवेदन तयारी गरी महासंघलाई बुझाइसकेको छ । सो प्रतिवेदनको सारांशसहित यसै विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ ।
रामकृष्ण अधिकारी
संयोजक, अध्ययन समिति
टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको मृत्युबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन–२०७८
पृष्ठभूमि
टिभी टुडे टेलिभिजनमा कार्यरत बरिष्ठ संवाददाता लालबहादुर विश्वकर्मा (एलबी) को २५ वर्षको अल्पायुमै असामयिक निधन भयो । २०७८ माघ ५ गते बुधबार अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि बानेश्वरको निजामती (सिभिल) अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँबाट ललितपुरस्थित पाटन अस्पताल पुर्याइएका विश्वकर्माको उपचारकै क्रममा २०७८ माघ ६ गते बिहीबार बिहान ३ः०० बजे निधन भयो ।
अछामको रामारोशन स्थायी घर भएका पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सर्वविदितै छ । स्वास्थ्य उपचार नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको सन्दर्भमा नेपाल सरकारको समेत लगानी रहेको अस्पतालको लापरवाहीका कारण जो कोही नागरिकको जीवन गुम्नु पनि संविधानको भावना र मर्म विपरित हो ।
त्यसमाथि कोभिड १९ को महामारीका कारण सिंगो मानव समुदाय प्रभावित भइरहेको बेला नागरिकको स्वास्थ्य उपचारमा सरकार थप जिम्मेवार हुनुपर्ने हो । महामारीका कारण सञ्चार क्षेत्र पनि प्रभावित हुन अछुतो छैन । यसैसन्दर्भमा सञ्चारकर्ममा रहँदारहँदै अस्पतालको लापरवाहीका कारण पत्रकार विश्वकर्माको दुखद निधन भयो ।
महामारीबाट प्रभावित सञ्चार क्षेत्र र पत्रकारहरूको स्वास्थ्य सुरक्षाका विषयमा निरन्तर वकालत गर्दै आएको नेपाल पत्रकार महासंघकै लागि पनि यो चुनाैती बनेर देखापर्याे । विश्वकर्माको निधनले आम पत्रकारहरूमा समयमै स्वास्थ्य उपचार सेवा नपाइने र कार्यस्थलमा रहँदारहँदै थप जोखिम हुन सक्ने भय सिर्जना गरेको छ ।
आम पत्रकारहरूले राज्यले तोकेको सेवा सुविधा सहितको न्यूनतम पारिश्रमिक समेत नपाइरहेको अवस्थामा एकातिर जोखिम मोलेर कार्यस्थलमा खटिनुपर्ने र अर्कोतिर बिरामी हुँदा पनि सहज उपचार नपाउने अवस्था विश्वकर्मा घटनाले चित्रित गरेको छ । यस विषय महासंघकै लागि पनि अध्ययन गर्नुपर्ने नयाँ र चुनाैतीपूर्ण विषय बन्यो ।
यससम्बन्धमा महासंघले अध्ययन गर्न आवश्यक ठानेर केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, शिवराज खत्री र प्रकाश धौलाकोटी रहेको तीन सदस्यीय अध्ययन समिति गठन ग¥यो । समितिले एक सातासम्म मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसंस्था, घटनासँग जोडिएका अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत कुराकानी गरेर यो प्रतिवेदन तयार पारेको हो ।
घटनाका केही तथ्यहरूः
– पत्रकार विश्वकर्माको आर्थिक अवस्था कमजोर रहेको र मासिक ३० हजार आम्दानीले घर खर्च, काठमाडौंमा सँगै बसेका दुई भाईको पढाई खर्च, अछाममा रहेका श्रीमति र साढे ३ वर्षको छोराको जिम्मेवारी निर्वाह गर्न कठिन थियो । उनी दीर्घकालीन दम र जन्डिसका विरामी थिए । तर नियमित परीक्षण र औषधि उपचार गर्न नसक्नु उनको बाध्यता थियो ।
– यसैबिचमा पुसको दोस्रो हप्ताबाट कोभिडसँग मिल्दोजुल्दो लक्षण (ज्वरो आउने, खोकी लाग्ने जस्ता) देखिएपछि घरमै बसेर औषधि सेवन गरेको पाइयो । तर, पुस २७ मा स्वासप्रस्वास सम्बन्धी थप समस्या भएपछि सिभिल अस्पताल पुगेका उनलाई चिकित्सकले फोक्सो र मुटुको परीक्षण गर्न सुझाएका थिए । उक्त उपचारका लागि पनि उनीसँग पैसा थिएन । त्यसवेलासम्म उनले कोरोना परीक्षण समेत गराएका थिएनन । कोरोना परीक्षण नगराउनुमा नियत भन्दा पनि परीक्षण गर्न लाग्ने शुल्क अभाव नै मुख्य समस्या देखियो ।
– गरिबी र अभावलाई नजिकबाट नियालेका विश्वकर्माको आफू विरामी भएको र उपचारमा समस्या भएको कुुरा आफू कार्यरत सञ्चारसंस्था, सहकर्मी, साथीभाई र आफन्तजन्लाई सुनाउने र सहयोग मागेका थिएनन् । र, उनलाई कसैले पनि स्वस्फूर्त सहयोग समेत गरेको देखिएन । उनले नेपाल पत्रकार महासंघलाई समेत त्यसबारे जानकारी गराएका थिएनन् ।
– त्यसबीचमा उनले सामान्य र औषधि सेवन गरेपनि आर्थिक अभावकै कारण अस्पताल भर्ना र आधुनिक उपचारको सुविधा लिन सकेनन् । त्यहीक्रममा उनी माघ ५ गते राति श्वासप्रश्वाससम्बन्धी समस्याकै कारणले पुनः सिभिल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको देखिन्छ ।
– त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल तिर्न जाँदा अस्पताल काउण्टरले कोभिड परीक्षणसहितको शुल्क रु. ४१०० रुपैयाँ मागेकोमा भाई गौतमसँग रु. ३५०० मात्रै भएको बताएपछि अस्पतालले कोभिड परीक्षणबाहेक रु. ३२९० असुल गरेको पाइयो । बिरामीसँग पैसा नभएको थाहा पाएपछि अस्पतालले बिरामीको संवेदनशील अवस्था बुझेर उनको ज्यान बचाउनेभन्दा उनीबाट उपचारको शुल्क असुल हुन नसक्ने अवस्था बुझेपछि बेवास्ता र लापरवाही सुरू गरेको देखिन्छ ।
– त्यसपछि मात्रै अस्पतालले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान दबाब दिएको आधारले अस्पतालले पैसा तिर्न नसक्ने अवस्था देखेपछि बाहना झिकेको देखिन्छ । अस्पतालका कर्मचारीले त्यसो गुर्नको पछाडि अस्पताल प्रशासनले सेवाग्राहीसँग बिल अनुसारको रकम लिन र त्यस अनुसारको रकम नलिए या तलमाथि परे सम्बन्धित कर्मचारीबाट नै भराउने नियम कारक देखिन्छ । बिरामीबाट जम्मा ६ सय रुपैयाँसम्म पनि केही घण्टा कुरेर लिने धैर्यता नदेखाउनु र उपचार नगर्नुले अस्पतालले उपचारका लागि आइपुगेका बिरामीको जीवन बचाउनेतिर भन्दा पनि कसरी पैसा असुल्ने भन्ने गरी निजी अस्पताल झैं मुनाफा कमाउने ब्यापारिक मनोवृत्तिका साथ अगाडि बढेको पुष्टि हुन्छ ।
– अस्पतालले रेफर गरेपछि पनि जीवनमरणको दोसाँधमा रहेका पत्रको बिरामीलाई आफूसँग भएका एम्बुलेन्समार्फत् अर्को अस्पतालको आइसीयूसम्म पु¥याउन मद्धत गर्नुको सट्टा १०२ मार्फत् निःशुल्क एम्बुलेन्स बोलाएर बिरामी लैजान सुझाएको देखिएका कारणले समेत सिभिल अस्पतालको लापरवाहीका कारण बिरामीको उपचारमा ढिलासुस्ती र जोखिम बढेको देखिन्छ । अवस्था गम्भीर भनेर भेन्टिलेटरसहितको आइसीयूमा राखेर उपचार गर्नुपर्ने भनीे रेफर गरेपछि सिभिल अस्पतालले आफ्नै एम्वुलेन्समा पठाएर सामान्य मानवियता पनि नदेखाएको देखिन्छ, जसकारण एम्बुलेन्स खोजीकै लागि २०/२५ मिनेट अतिरिक्त समय खपत् भएको छ ।
– त्यसपछि विश्वकर्मालाई पाटन अस्पताल पु¥याइएको थियो । त्यहाँ अस्पतालले करिब ४५ मिनेट आकस्मिक कक्षमै राखेर उपचारपछि उनलाई भेन्टिलेटरमा सिफ्ट गर्ने बेला राति करिब ३ बजे उनको निधन भयो । पाटन अस्पतालले पनि बिरामीको अवस्था हेरेर सिभिलले रेफर गरेको डकुमेन्टका आधारमा सिँधै आइसीयूमा राखेर उपचार गर्नुतिर लैजानु भन्दा इमर्जेन्सीमै राखेर उपचार शुरु गर्नु कमजोरी देखिन्छ ।
– यसरी दमका दीर्घरोगी पत्रकार विश्वकर्माले कोभिड–१९ का लक्षण देखिएपनि बढी शुल्क भएकै कारण परीक्षण गर्न नसकेको, आइसोलेसन पिरियडमा घरमै बसेर उपचार गरेपनि पोष्ट कोभिडले शरीरमा असर पुर्याएको र अन्तिम अवस्थामा अस्पताल पुगेका उनको उपचारमा अस्पतालले लापरवाही गरेका कारण उनको ज्यान गएको देखिन्छ ।
– पाटन अस्पतालले उनलाई कोभिड–१९ संक्रमणको शंकास्पद बिरामीको रुपमा उपचार गरेको । र, चिकित्सकहरूले समयमै अक्सिजन र भेन्टिलेटरमा राखेर उपचार गराउन सकिएको भए जीवन बचाउन सकिने बताएका छन् ।
– पत्रकार विश्वकर्मालाई उनी कार्यरत संस्था टिभी टुडेले न्यूनतम पारिश्रमिक उपलब्ध गराए पनि अन्य श्रमजीवी पत्रकारको सेवा सुविधाका विषयमा कुनैपनि प्रवन्ध गरेको देखिएन । तर भदौ १५ देखि आवद्ध भएका उनलाई टिभी टुडेले पुस महिनासम्मको नियमित पारिश्रमिक दिएको देखियो ।
– टिभी व्यवस्थापनले आफ्नो खर्चमा आफ्ना कर्मचारीको संक्रमणात्मक रोगको परीक्षण गराउने गरेको देखिएन । कर्मचारीको स्वास्थ्य उपचार बीमा, दुर्घटना बीमा लगायतका कुनै पनि बीमा र आफना कर्मचारी/पत्रकारको योगदानमा आधारित सामाजिक सुरक्षाको ब्यवस्था समेत गरेको देखिएन । साथै, समाचार कक्ष पनि पर्याप्त मात्रामा स्वासप्रश्वासका लागि सहज हुने खालको नरहेको र गुम्सिने खालको रहेको भनी एलबीले आफ्ना अन्य केही साथीहरूसँग यदाकदा भन्ने गरेको पाइयो । दमको रोगीका लागि गुम्सिने समाचार कक्ष सहज कामका लागि उपयुक्त नहुने नै देखियो ।
– सिभिल अस्पताल प्रशासनले घटनाबारे छानबिन गर्न अस्पतालको इमजेन्सी विभागका प्रमुख प्रा.डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषवहादुर बस्नेत रहेको छानबिन समिति बनाएको देखियो ।
– सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने भनी आर्थिक वर्ष २०७८र०७९ मा उल्लेख भएपनि उक्त घोषणा कागजी पुलिन्दामात्र रहेको देखियो । सिभिल अस्पतालमा यो घोषणा कार्यान्वयनमै नरहेको देखियो ।
– इकागज डटकममा पत्रकार विश्वकर्माले नियमित लेखहरू लेखेको भएपनि त्यहाँबाट उनले अहिलेसम्म कुनै पारिश्रमिक नपाएको देखियो ।
– पत्रकार एलबी विश्वकर्मा बिरामीदेखि उपचार प्रक्रियामा पत्रकार महासंघ जानकार नभए पनि निधनपछि अस्पतालदेखि आर्यघाटसम्म नेपाल पत्रकार महासंघ पदाधिकारी तथा सदस्यको उल्लेख्य उपस्थिति नदेखिदा परिवार तथा सञ्चारकर्मीहरूबाट प्रश्न उठाइएका छन् ।
मेडिकल रिपोटमा देखिएको तथ्यः
STO (स्वासप्रश्वास) बढेको, अक्सिजनको लेवल कम देखिएको ।
– Suspeted Covid (शंकास्पद कोभिड( को आशंका चिकित्सकहरूले गरेको देखिन्छ । तर एन्टिजेन र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको देखिन्छ ।
(कलेजोमा केही खरावी देखिन्छ । (जण्डिस देखिएको)
– रगतको मात्रामा केही इन्फेक्सन देखिएको ।
– दीर्घकालीन दम र खोकी देखिएको ।
निष्कर्ष र सिफारिस
– पत्रकार एलबी विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण देखिन्छ । नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको छ । यसकापछि पाटन अस्पतालको समेत लापरवाही देखिन्छ ।
– स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो । तर, अरुको अधिकारको लागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो ।
– यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरूको जिम्मेवारी र कर्तव्य हुने महासंघको ठहर छ ।
– महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।
– कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरू संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय छन् । तर, पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको छ । महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरूको स्वास्थ्य उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
– महामारीका बेला हरेक नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्नु सरकारको दायित्व हो । सर्वोच्च अदालतले कोभिड–१९ बाट संक्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न ०७७ असोज १५ गते आदेश समेत जारी गरेको सन्दर्भमा महासंघ महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।
– सर्वसाधारण नागरिक सरकारी तथा निजी जुनकुनै अस्पतालमा उपचारका लागि पुगेपनि पहिला उसको बाँच्न पाउने हकको सुनिश्चितता राज्यले गर्नुपर्दछ । नागरिक अगुवा संगठन समेत भएको हिसावले पत्रकार महासंघ यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
– सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरूको निःशुल्क उपचार हुने भनी घोषणा गरेपनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको अवस्था छ । घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ ।
– टिभी टुडेसहित सञ्चार प्रतिष्ठानहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफना कर्मचारी पत्रकारहरूलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकुल पारिश्रमिक पूनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले ब्यवस्था गरे अनुसारको सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघ आग्रह गर्दछ । साथै, यसविषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
– पत्रकारहरूको हकहितका लागि काम गर्ने संस्था नेपाल पत्रकार महासंघ नै हो । तर, पत्रकार विश्वकर्माले आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाबारे महासंघलाई जानकारी नै नगराएकाले महासंघले आफूलाई परीक्षण गर्ने मौकासमेत पाएन । पत्रकार विश्वकर्माको जीवन बचाउने सन्दर्भमा कुनैपनि भूमिका खेल्नबाट बञ्चित भएकोमा महासंघ दुखी छ ।
– यदि कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या छ भने पत्रकार महासंघको सम्पर्कमा आउन महासंघ आग्रह गर्दछ । महासंघलाई जिम्मेवारीवोध गराउन र पत्रकारको हकहितका लागि निरन्तर परीक्षणको मौका दिन घच्घचाउने काम गरिरहनु आग्रह गर्दछ ।
– महासंघ स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, भविष्यमा पर्न आउने समस्याकालागि थप योगदान र सक्रियताकालागि प्रतिवद्ध छ ।
– मृतक पत्रकार विश्वकर्मासँग आश्रित परिवार (श्रीमती र साढे ३ वर्षको छोरा) को हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाईको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासंघ आग्रह गर्दछ ।
प्रकाश धौलाकोटी
शिवराज खत्री
रामकृष्ण अधिकारी
केन्द्रीय सदस्य केन्द्रीय सदस्य केन्द्रीय सदस्य एवम् संयोजक