तेमिया जातक (कथा)
बनारसका राजा काशीराजसँग प्रशस्त धन सम्पत्ति भए पनि उनी बेखुस थिए ।
उनका १६ हजार रानीहरू भए पनि उनका कुनै सन्तान थिएनन् । प्रत्येक रानीले छोरा पाउनका लागि भगवानसँग प्रार्थना गर्दथे तर पनि कुनै रानीलाई पुत्रलाभ भएन । उनकी मुख्य रानी चन्दादेवीले पनि भगवान शुक्रसँग प्रार्थना गरेर भनिन् “मैले जीवनमा राम्रो काम मात्र गरेको छु । मलाई एउटा छोरा दिनुहोस् ।” उनको पुकार तभतिम्स स्वर्गमा पुग्यो । पृथ्वीमा अन्याय भयो भनेर शुक्रले पहलकदमी लिनुभयो । त्यसपछि उनले पृथ्वीमा पठाउन धेरै देवताहरू मध्ये बोधिसत्वलाई चुन्नुभयो । उहाँले थाहा पाउनु भयो कि बनारसको राजा हुन बोधिसत्व मात्र योग्य छन् । त्यसपछि उहाँलाई रानी चन्दादेवीको गर्भमा पठाइदिनु भयो । ती बोधिसत्वका साथी हुन सकून् भनेर पाँच हजार जनालाई विभिन्न मन्त्री पत्नी र उच्च ओहोदाका महिलाहरूको गर्भमा पठाइदिनुभयो । जब मुख्य रानी चन्दादेवीले आफ्नो गर्भमा हिरा आएको अनुभव गरिन् । राजा रानी दुवै जना खुसी भए । धेरै धाई सुसारेहरूले सुत्केरी हुने दिनसम्म चन्दादेवीको राम्रो हेरचाह गरे ।
छोरा जन्मेको खबर सुनेर राजा धेरै खुसी भए र उनले हृदयबाटै अभिभावकीय माया र स्नेह प्रदान गरे । त्यसैबेला अरू ५ हजार महिलाहरूले पनि पुत्रलाभ गरे ।
बोधिसत्व ती ५ हजार शिशु सँगै बढ्दै गए । उनलाई चौसठ्ठी जना भर्खरै सुत्केरी भएका परिचारिकाहरूले स्तनपान गराए । ती चौसठ्ठी जना भर्खरै सुत्केरी भएका परिचारिकाहरू अत्यन्त दयालु र सुन्दर थिए । राजाले ती परिचारिकाहरूलाई रानीको जिम्मा लगाएर भन्नु भयो कि यिनीहरूले नवजात शिशुलाई राम्रो हेरचाह गर्नेछन्, तिमीलाई थप केही सहायता चाहिएमा मलाई खबर गर्नू । रानी, म तिमीसँग धेरै प्रसन्न छु के वर माग्छ्यौ माग भन्नुभयो ।
रानीले राजासँग भन्नुभयो पछि चाहिएको बेला मागौँला ।
बच्चाको नामाकरण गर्न बोलाएका ब्राह्मणले भने कि यो राजकुमार सबै लक्षण र चिन्हले भाग्यमानी छन् । उनको नाम तेमिया कुमार राखियो । तेमियाको अर्थ ‘मुसलधारे वर्षा’ हुन्छ किनकी जन्मेको दिन उनी मुसलधारे पानीमा भिजेका थिए । एक महिना भएपछि ती शिशुलाई राम्रो कपडा लगाई दिएर सर्वसाधारणको दर्शनका लागि राजगद्दीमा बसेका राजाको काखमा राखिदिएका थिए । सबै व्यक्तिहरू उनको सुन्दरता देखेर भावविभोर भए र सबै मुख हेर्न आएका व्यक्तिहरूले बाटोमा सुन्दरताको वर्णन गर्दै आ आफ्ना घर फर्किए । त्यसपछि ४ वटा डाँकाहरूलाई राजाको अगाडि उपस्थित गराइयो । ती चार डाकाहरू कस्ता थिए भने एउटाको शरीर भरि नै कोर्राले हानेर चोटै चोट भएको, अर्को साङ्लाले बाँधेर राखेकाे, अर्को यातना दिएर मर्नु न बाँच्नुको दोसाँधमा भएको र अर्को चाहिँ मृत्युदण्ड कुरेर बसेको थियो । बोधिसत्व बालक यी मानिस देखेर डराए ।
उनी आफ्ना बाबुको क्रुरता देखेर झनै डराएका थिए । राजाले न्यायाधीशको भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । मैले पनि राजा भएँ भने प्रतिदिन यस्तै क्रुर क्रियाकलाप गर्नुपर्छ भन्ने बुझेर उनी ज्यादै दुःखी भए । ‘मानिसलाई मृत्युको मुखमा पठाउने यातना दिनुभन्दा बरू आफैँ नर्क जानु राम्रो ।’ उनले मनमनै भने ।
अर्कोदिन छोटो निन्द्राबाट उठ्नासाथ उनले आफूमाथि सेतो छाता ओढाएको र चौका चदुवा टाँगेको देखे । ती शिशुले सोच्न थाले कि राजा हुनु भनेको के हो ? उनको सोचाईले उनलाई नै हल्लाई दियो । उनले ध्यानबाट यो जानकारी पाए कि उनी अघिल्लो जन्ममा बनारसको राजकूलमा जन्मेर २० वर्ष राजा भएपछि उनले राजाबाट राजिनामा दिएका थिए । त्यो जन्ममा पनि राजाले गर्नुपर्ने यस्तै डरलाग्दा निर्णयका कारण राजीनामा दिनुपरेको थियो ।
उनले त्यसबेला यस्तो कार्य गरेको भए ८४ हजार बर्ष सम्म नर्कबास हुने थियो । फेरि राजा भएर त्यही बनारसमा कुकर्म गर्न पठाइएको हो ? मेरो भाग्य यस्तै हो त ? उनले त्यो सहन सक्ने कुरा थिएन । अघिल्लो जन्मकी उनकी आमाले उनी माथि ओढाएको सेतो छाताका मुनि आएर भनिन्, ‘मेरो छोरा म तिमीलाई सहयोग गर्छु । मैले जे भन्छु त्यो तिमीले मान । तिमी लाटो र लंगडो बन । तिम्रा ओठ पनि नचलाऊ र तिमीले आवाज पनि ननिकाल । त्यस पछि तिमीलाई राजाको श्रीपेच लगाउन मान्ने छैनन् । त्यसपछि त तिमी मुक्त भैहाल्छौँ ।’ त्यसपछि ती बाेधिसत्वले अरू ५ हजार शिशुभन्दा फरक चिह्न देखाउन थाले ।
जब अरू बच्चाहरू दूध माग्न रुन्थे, तेमियाले चाँही आवाजसम्म निकालेनन् । त्यो बच्चालाई आमाले हातमा लिदा र बोक्दा न त रुन्छ, न हाँस्छ, न त हिँड्छ र सुन्छ नै । तर उनको शरीर चाँही स्वस्थ बच्चाको जस्तो थियो । यो देखेर उनको सेवामा राखिएका परिचारीकाहरू छक्क परे । आवाज निकालोस् भनेर चुसाई रहेको दूधको खोसिदिन्थे । दूधको मुन्टो मुखबाट बाहिर निकाली दिन्थे । उनलाई दिनभरि दूध नचुसाइकन भोकै राख्थे । तर पनि ती बच्चाले आवाज निकालेनन् । अर्को वर्ष उसलाई लोभ्याउन विभिन्न प्रकारका केक र मिठाईहरू अगाडि राखिदिए, त्यो देखेर अरू बच्चाहरू केक र मिठाई खान लडाई गर्थे । तर बोधिसत्व तेमियाले कुनै प्रतिक्रिया देखाएनन् । उनले मनमनै भने “नर्क जाने इच्छा भए त्यो केक खाऊ ।” त्यसैले उनले देखेको नदेख्यै जस्तो गरे । सबै किसिमका खाना, फलफूल, खेलौनाले उनलाई आकर्षण गर्न सकेन, जबकी अरू बच्चाहरू ती सामान समाउन प्रतिस्पर्धा गर्थे । जब उनी पाँच वर्षका भए उनलाई बोलेर डर देखाउन खोजियो । एक पटक उनलाई खजुरको पातले छाएको घरको छानाको बीचमा राखेर आगो लगाई दिए ।
साधारण बच्चाहरू भए रुँदै कराउँदै भाग्थे होलान् तर उनी त गतिहीन भै छानामै बसिरहे । आगो उनको छेउसम्म आउँदा पनि र आगोले समात्नै लाग्दा पनि चुपचाप बसिरहे । उनी ६ वर्षको हुँदा उनलाई जंगली हात्तीमाथि राखी दिए । ७ वर्षको हुँदा उनकै अगाडि सपेराले सर्प राखेको ढाकी खोली दिएर सर्प लगाई दिए तर पनि उनी भागेनन् र कुनै प्रतिक्रिया पनि जनाएनन् । अर्को वर्ष दुई जना तरवार बोकेका डरलाग्दा मानिसहरूले उनलाई डर देखाए र विछ्यौनाको चारैतिर तरबारले घोचेर प्वाल बनाए । त्यहाँ विष्फोटको ठूलो आवाज निकाले । उनलाई तर्साउन रातको बाह्र बजेतिर ठूलो दमाह बजाएर डरलाग्दो आवाज निकाले ।
उनलाई तर्साउन मध्यरातमा एक्कासी बत्ति बालिदिए तरपनि उनीहरूले बोधिसत्वको ध्यान तोड्न सकेनन् । उनको शरीरभरि खुदो दली दिए र खागा (भीर मौरी) छोडिदिए तर पनि बोधिसत्वलाई ती खागाले चिलेनन् । धेरै दिनसम्म ननुहाइकन राखे । त्यसले पनि उनलाई कुनै फरक पारेन । तातो तेलको कराई उनको बिछ्यौना तल राखे र तातो तेल उनको शरीरमा खन्याउन र तातो तेलमा डुवाउन प्रयत्न गरे तर पनि उनी चुपचाप बसिरहे । उनले विचार गरे कि नर्क यो भन्दा हजारौँ गुणा खराब हुन्छ । उनका बुवा उनी बोलेको, हिँडेको र सुनेको हेर्न चाहन्थे तर उनले त्यस्तो कुनै क्रियाकलाप गरेनन् । सोह्र वर्षको भए पछि उनलाई मोहमा पार्नका लागि सुन्दरी परीहरू भएको एउटा कोठामा लगे तर ती अत्तर लगाएका सुन्दरी परीहरूले उनमा कुनै प्रभाव पार्न सकेनन् । अन्त्यमा, राजाले तन्त्रविद् र ज्योतिषहरूलाई बच्चा जन्मेको बेला किन तिमीहरूले यस्तो जीवनमा आइपर्ने गम्भीर व्यवहारहरू वारे किन भनेनौँ भनी प्रश्न गरे ? उनीहरूले तेमियाको व्यवहारको यथार्थ कुरा भनेनन् बरू आफूहरूले नै यो विषय नजानेको कुरा स्विकार गरे । यतिका वर्षपछि छोरा जन्मिएको त्यो खुसी यति छिट्टै छायामा पर्छ भन्ने थाहा नभएको बताए तर अहिले यो राज्यको सुरक्षाको चुनौति रहेको र राजगद्दीलाई नै अप्ठ्यारो पर्न गएको कुरा बताउँदै तेमिया देशमा भए खतरा हुने कुरा बताए । यो कुरा सुने पछि राजाले के गर्न सकिन्छ भनेर ती तन्त्रविद् र ज्योतिषसँग परामर्श मागे । राजाले रथका लागि केही घोडाहरू तयार गरी राख्न लगाए र छोरालाई त्यसमा राखेर पश्चिम ढोकाबाट बाहिर निकाली उसलाई चिहानमा पुर्नु भन्ने आदेश दिए । जब यो योजना रानीले थाहा पाइन् । राजाले छोरा पाएको बेला तिमीलाई के माग्नु छ माग भन्दा पछि आवश्यक परेको बेलामा मागौला भनेर थाँती राखेकी थिइन । त्यही मौका छोपी रानीले मेरो छोरालाई राज्य दिनुहोस् भनेर वर माग्नु भयो । जब उनीमाथि राजमुकुट राखिन्छ त्यो बेला ऊ अवश्य पनि बोल्ने छ । राजाले त्यो कुरा मानेनन् । ‘असम्भव रानी ! तेरो छोराले दुर्भाग्य मात्र ल्यायो ।’ त्यसो भए राजा, मेरो छोरालाई सात महिना त राज्य दिनुहोस् भनेर रानीले राजालाई बिन्ती गरिन् । पुनः राजाले मानेनन् र भने ‘रानी म मान्दै मान्दिन ।’
सात महिना, त्यत्रो अवधि, यो त हुनै सक्तैन । मैले सोह्र वर्षमा गरेको काम केबल एक सेकेण्डमा खतम हुन्छ ।’ रानी पुनः राजालाई विन्ती गर्छिन् । अन्त्यमा राजा ७ दिन राज्य दिन राजी हुन्छन् । तेमियालाई हात्तीमा राखेर पूरै शहर परिक्रमा गराइयो, मानिसको काँधमा राखी पुनः सहर परिक्रमा गराइयो । तर पनि न त उनको खुट्टा हल्लियो न त उनको ओठ नै । सातौँ दिनमा मेरो छोरा एक पटक भए पनि बोल न भनेर आमाले विन्ती गरिन् । उनले भनिन्, ‘त बोलिनस् भने मृत्युको मुखमा पर्नेछस् ।’ बोधिसत्वले सोचे, ‘मैले बोलिन भने मेरी आमाको मुटु फुट्छ । यदि बोले भने सोह्र वर्षसम्म मैले गरेको तप नष्ट हुन्छ । यदि मैले आफ्नो तपलाई निरन्तरता दिएँ भने म र मेरा बा आमा नर्क जानबाट बच्नेछन् ।’ तसर्थ तेमियाले मौन बस्ने निर्णय गरे । उनको सात दिनको राज्यावधि समाप्त हुँदै थियो । उनी बोल्न त सक्थे तर पनि बोलेनन् । अर्को दिन बिहानै राजाले सुनन्दालाई घोडा र रथ तयार गर्ने आदेश दिए । बोधिसत्वलाई त्यो रथमा राखी पश्चिमतिरको ढोकाबाट बाहिर निकाली चिहान खनी उसलाई खाडलमा हुत्याईदिनु र बेल्चाले उसको टाउकोमा हानी मार्नु । त्यसपछि उसलाई माटोले पुर्नु । त्यसपछि तिमीले नुहाई धुवाई फर्केर आउनु ।” राजाको आदेश हुन्छ । सुनन्दाले बोधिसत्वलाई पश्चिमतिरको मृत्युको ढोकाबाट ननिकाली पूर्वतिरको ढोकाबाट बाहिर निकाल्छन् । पूर्वको ढोका भनेको विजयको ढोका हो । ढोकाबाट बाहिर निस्कदै गर्दा त्यो रथको एउटा चक्का ढोकामा ठोकियो त्यो सुनेर बोधिसत्वले सोचे कि अब मैले मुक्ति पाउँछु । भगवानको आशिर्वादले उनलाई बनाएको चिहान उनले टाढैबाट देखे । सुनन्दाले रथलाई रोके । सुनन्दाले बोधिसत्व तेमियाका सबै गरगहना निकाले र तेमियालाई रथबाट उतारे । जब सुनन्दा चिहान खन्न थाले तब उनले आफू मुक्त हुन्छु भन्ने सोचे । सोह्र वर्ष सम्म मैले मेरो हात खुट्टा चलाएको छैन । अब म चलाउन सक्छु । त्यसपछि विस्तारै उठे र खुट्टालाई हातले मालिस गरे हातलाई पनि मालिस गरे अनि उफ्रिए । उनलाई उफ्रिदा हावामै उडेको जस्तो र हावामै कुसन भरिएको महसुस भयो ।
उनीले अगाडि पछाडि हिँडेर खुट्टाको अभ्यास गरे र विश्वस्त भए कि उनमा अब प्रशस्त बल छ । उनका लागि यो नै जंगलमा गई सन्यास लिने उपयुक्त अवसर थियो । यदि सुनन्दाले उनलाई भाग्नबाट रोक्न खोजेको भए पनि सुनन्दालाई हराउने उनीसँग प्रयाप्त बल थियो ।
उनको बलको जाँच गर्न उनले रथको पछाडिपट्टि एउटा हातले समाते र पुरै रथलाई उचाले । उनमा पर्याप्त बल भएको यकिन भयो । उनी रथ हाक्ने मानिसको अगाडिबाटै हिँडेर सुनन्दालाई चुनौति दिदै भने । ‘जुन मानिसलाई तिमी मार्न गइरहेका छौँ त्यो न त बहिरो छ न त लंगडो नै । तिमी त्यही रोक र नर्क जान तयार हौँ । तिमी मर्दैछौँ ।’
सुनन्दाले माथि हेर्यो र बोधिसत्वको सुन्दरता देखेर ऊ आश्चर्यमा पर्यो । उसले बोधिसत्वलाई चिन्नै सकेन । तेमियाले आफैँ आफ्नो परिचय दिए । अचानक सुनन्दा बोधिसत्वको खुट्टामा झुके र उनलाई आदर गरेर सुरक्षापूर्वक राजदरबारमा लैजाने अठोट गरे । बोधिसत्व जसले बुद्धत्व प्राप्त गर्ने यात्रा तय गरिसकेका थिए उनलाई कसले रोक्न सक्थ्यो र ? उनले आफ्नो पूर्वजन्मको वर्णन गरे ।
त्यसअघिका जन्मको सबै कुरा बताए । आफूले नर्कमा विताएका केही जन्मको पनि विस्तारपूर्वक बताए । उनले सुनन्दालाई भने तुरुन्त फर्किएर राजदरवार जाऊ र बा आमालाई आफ्नो छोरा जीवित रहेको बताऊ, ता कि उहाँहरू छोराको मृत्युको शोकमा नपरून् । त्यो रथ लिएर सुनन्दा एक्लै राजदरबार फर्किए । सुनन्दा एक्लै फर्केको देखपछि रानीले अनुमान गरिन् कि मेरो छोरालाई जंगलमा मारियो । त्यसपछि उनी रुन लागिन् । जब सुनन्दाले सबै कथा भने तब उनी चुप लागिन् । तेमियाले विजय प्राप्त गरेको कुरा राजाले रानीलाई बताए । तब राजा र रानी दुवै जना छोरा घरमा ल्याउनका लागि खोजतलास गर्न भनी पूर्व गेटबाट बाहिर निस्किए । त्यो बेला तेमियाले सन्यास धारण गरिसकेका थिए । धेरै परबाट रथहरूको लामो ताँती आएर एक ठाउँमा रोकियो । जहाँ उनी शुक्रले बनाइदिएको कुटीमा बसिरहेका थिए । त्यो कुटीको छानो पातहरूले छाइएको थियो । उनी सन्यास धारण गरेर चीवर र चितुवाको छाला लगाएर बसिरहेका थिए । काँधमा कालो छाला राखिएको थियो । कपाल बाटेर माथि लगी बाँधिएको थियो । उनले आफ्ना बा–आमालाई स्वागत गरे । आफ्नो पूर्व जन्मका सबै कथाहरू बताए । उनी १६ वर्षसम्म मौन बसेको कारण समेत बताए । बोधिसत्व आफ्नो अगाडि घुडा टेकेर बसिरहेका राजा रानीलाई धर्मदेशना दिइरहेका थिए ।
बाेधिसत्वको सबै कुरा सुनिसकेपछि राजारानी दुवै दरबारमा फर्किए । दरबारमा रहेको धन सम्पत्ति सुन चाँदी सबै गरिब दुःखीलाई बाँडिदिए । राजा मात्र नभएर सबै प्रजाहरू भिक्षुमा रूपान्तर भए ।
त्यसपछि पूरै राज्य नै भिक्षुहरूको राज्यमा परिणत भयो ।
(मौलिक कथाः मुगापक्ख जातक कथा नं. ५३८)