काँग्रेस कैलालीद्वारा तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस

धनगढी । नेपाली काँग्रेसका कैलालीले जिल्लाको टीकापुर नगरपालिकाका तीन वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । काँग्रेसले पार्टीबाट पदमुक्त गर्दै जनप्रतिनिधिको पद पनि खारेजी गर्न माग गर्दै आयोगलाई सिफारिस गरेको हो ।

काँग्रेस कैलालीले टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष रामसेवक महतो र वडा नम्बर ५ का वडाध्यक्ष रामशंकर डगौरा थारुलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

यसैगरि, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नं. ३ का वडा सदस्य बिना थारु रभागिदेवी कामी, वडा नं. ४ का वडा सदस्य तुलसादेवी बिक, प्रेमलाल चौधरी र रुपमति डगौरा थारुलाई पार्टीले कारबाही गर्दै पदमुक्त गर्न सिफारिस गरिएको काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख नृपबहादुर सुनारले जानकारी दिए ।

यस्तै वडा नं. ५ वडा सदस्य बलवीर थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु र सरिता भुल, वडा नं. ६ का वडा सदस्य रामशंकर चौधरी र जमुना चौधरीलाई पनि पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारिस पठाइएको उनले बताए ।

उनका अनुसार नेपाली काँग्रेस कैलालीले टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र न १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्र अनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन् ।

पदमुक्त गर्न सिफारिस गरिएकाहरू काँग्रेसलाई त्यागेर हाल अन्य राजनीतिक दलमा प्रवेश गरेकाले निजहरूलाई साधारण सदस्य समेत नरहने र स्थानीय तहको पदसमेत खारिज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख सुनारले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *