प्रतिक्रियावादीहरू माओवादीलाई सखाप पार्न लागे : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।
आफूहरू रणनीतिक सोचका साथ अगाडि बढेको उनले बताए । ‘साथीहरूमा भ्रम सिर्जना भयो र निस्किने काम भयो । हामीले पनि बुझाउन सकेनौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीहरू एउटा रणनीतिक सोचका साथ अगाडि बढेका छौँ, तत्कालीन स्टेपहरूको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरूले बुझ्दै जानु भएको छ ।’
उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । ‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
याे पनि : विप्लव नेतृत्वको नेकपाको जुम्ला कमिटी माओवादी केन्द्रमा ‘समाहित’
अहिले बिस्तारै विभाजनका घाउहरू बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एकठाउँमा केन्द्रित हुँदै गएको प्रचण्डको भनाई छ । ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन’ उनले भने ।
प्रवेश गर्नेहरूका तर्फबाट रवीकिरणले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै प्रचण्डले अन्य कोहीले रहर गरेर नहुने बताए । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरू घर फर्किएको उनको भनाइ थियो ।