अन्जु पन्तले भनिन्- ‘रचना नानुलाई सधैँ आशीर्वाद रहिरहनेछ’

काठमाडौँ । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई…’ यतीबेला विवादमा परेको छ । यो गजललाई चार दिन अघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो ।

यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदीश समालको स्वरमा रेकर्ड गराएर बजारमा ल्याइएको थियो । त्यतिबेला निकै चलेको यो गजललाई अहिले रचना रिमालको स्वरमा रेकर्ड गरेर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि स्रष्टाहरूले यसको टिप्पणी गरेका छन् ।

ओरिजीनल गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद : गायिका पन्त
ओरिजीनल गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद भएको बताएकी छन् । ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै भनेकी छन्, ‘के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन ।’

एक व्यक्तिको कुरा भन्दा पनि संगीत र कलाकारलाई दिने सम्मान नै भुल्न लागिरहेको हो कि भनेर चिन्ता लागेको उनले बताइन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ,’ उनले भनेकी छन्, ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् ।’

साथै उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् । ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले अगाडि भनेकी छन् ।\

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *