दुवै डोज लगाएका सबैलाई फागुन १ देखि बुस्टर डोज

काठमाडाैँ । सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ ।

कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए ।

बुस्टरको रूपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए । आफूले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाका बारेमा जानकारी दिर्दै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिए । त्यस्तै उनले खोप लगाएको क्यूआरकोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरू गरिएको बताए ।

२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको र २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड १९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए । मन्त्री खतिवडाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाएको जानकारी दिए । त्यस्तै आवश्यक खोपको मौज्दात सुनिश्चित गरिएको उनले बताए ।

मन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य शुरू गरिएको र आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुने उल्लेख गरे । त्यस्तै नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको उनले बताए । हालसम्म २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको र ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *