नेपालले आज युएईसँग खेल्ने
काठमाडौँ । चार देशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले युएईसँग खेल्दैछ । आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
अल अमरेट क्रिकेट मैदानमा बिहान ११:४५ मा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल युएईलाई पराजित गर्दै विश्वकप छनोट अघि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने प्रयासमा हुने छ ।
तर युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्ने छ । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाल अस्ट्रेलिया विश्वकप छनोट हुने विश्वासमा रहेको छ ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टीमलाई पनि दुई समूहमा विभाजन गरिएको स्पर्धामा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष २-२ टीमले सेमिफाइनल खेल्ने छन् ।
फाइनलमा पुग्ने दुई टीम विश्वकपमा छनोट हुने छन्। टी-ट्वेन्टी विश्वकप यसै वर्ष अस्ट्रेलियामा १६ अक्टोबर देखी १३ नोभेम्बर सम्म हुने छ ।