गोरखा जिल्लाबाट छुट्टिने धार्चे र चुमबासीको निर्णय

पोखरा । भूगोल र सामरिक हिसाबले विविधता रहेको भन्दै गोरखा जिल्लालाई टुक्र्याएर दुईवटा बनाउन स्थानीय राजनीतिक दल र सरोकारवालाहरूले संयुक्त निर्णय गरेका छन् ।

पन्चायतकालमा पनि गोरखालाई दुई जिल्ला बनाउन प्रस्ताव गरिएको थियो । राजनीतिक पहुँच नपुग्दा तत्कालीन समयमा मुद्दा त्यसै सेलाएकाे थियाे । अहिले पुनः जिल्ला टुक्र्याउने मुद्दा पेचिलो बनेको छ । दुई पालिकाको भूगोल र रहनसहन अरू भू-भाग भन्दा छुट्टै भएकोले धार्चे र चुमनुब्रीको जिल्ला नै छुट्याउनुपर्ने स्थानीय सर्वदलीय बैठकले निर्णय गरेको छ ।
यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा ४ सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । स्थानीय जनप्रतिनिधि निमा लामा अहिलेको प्रस्ताव उपयुक्त भएको बताउँछन् ।

‘छुट्टै जिल्ला पाउनु राम्रो हो । नभएपनि स्वायत्त क्षेत्र भए छिटो विकास हुन्थ्यो । गोरखा निकै ठूलो छ । बजेट बाँड्दा पनि थोरै मात्रै बजेट माथितिर आउँछ । अहिलेसम्म दुर्गम नै छ,’ उनले भने, ‘त्यहाँ अलग्गै प्रशासन भयो भने विकास हुन्थ्यो कि भन्ने आस छ । जिल्ला छुट्याउन सबै राजनीतिक पार्टीको एकमत छ । कसैको विमति छैन ।’

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ भने जिल्ला छुट्याउनका लागि मात्रै संविधान संशोधन उपयुक्त नहुने बताउँछन् । ‘जिल्ला टुक्र्याउनकै लागि मात्र संविधान संशोधनको प्रस्ताव गर्दा धेरै समस्या आउन सक्छ । अरू एजेण्डाहरू हुँदा यसलाई पनि छिराए हुन्छ,’ उनले थपे, ‘जिल्ला ठूलो हुँदा समानुपातिक विकासमा समस्या भएको छ ।’ चुमनुब्रीमा हालसम्म मोटरबाटो पनि पुगेको छैन ।

धार्चे र चुमनुब्रीले ५० प्रतिशत भन्दा धेरै भुगोल ओगटेको भएपनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको स्थानीयको गुनासो छ । गोरखाको ३ हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये २ हजार ३ सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन् । २०६८ को जनगणना अनुसार दुई पालिकाको जनसंख्या जम्मा २० हजार १ सय ५२ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *