गगन भन्छन्

‘तत्कालीन सरकारले संसद् पुर्‍याएकाे एमसीसी अनुमोदन गरिनुपर्छ’

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वकाे सरकारले ल्याएकाे एमसीसी वर्तमान सरकारले अनुमाेदन गर्नुपर्ने बताएका छन् । विगत लामो समय एमसीसीबारे सार्वजनिक अभिव्यक्ति नदिएका महामन्त्री थापाले एमसीसी संसद्‌मा पेस हुने हल्लाका बीच आफ्नाे आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

कांग्रेसले प्रतिपक्षमा हुँदा र सरकारमा हुँदा ‘डबल स्टान्डर्ट’ नराख्ने उल्लेख गर्दै भनेका छन्, ‘२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद् एवं तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी संसद्‌बाट अनुमोदन गराउने र दातृ निकायलाई त्यसबारे जानकारी गराउने निर्णय गरेको रहेछ । सोहीअनुसार एमसीसी सम्झौता २०७६ असार ३० गते संसद्‌मा दर्ता भएको देखिन्छ । कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसद्‌मा  टेबुल हुनुपर्ने निर्णय गरेको सन्दर्भलाई समेत स्मरण गरी अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्छ र त्यसलाई अनुमाेदन गर्नुपर्छ ।’

महामन्त्री थापाले एमसीसी संसद्‌सम्म पुर्‍याउनका लागि भूमिका खाेल्ने नेताहरू आफ्नाे जिम्मेवारीबाट भाग्न नमिल्ने पनि बताए । ‘हिजो एउटै पार्टीमा हुँदा उहाँहरूकै नेतृत्वको सरकारले एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउने निर्णय गरेको देखिन्छ । त्यसप्रति आज जुनसुकै पार्टीमा भएपनि उहाँहरुले प्रतिबद्धता पूरा गर्नुहुने विश्वास छ’, महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *