नवौं राष्ट्रिय खेलकुद गर्ने राखेपको तयारी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  कोरोना भाइरस (कोभिड-१९) को कारणले गत वर्ष हुन नसकेको नवौं राष्ट्रिय खेलकुद यसै वर्ष गर्ने तयारी गरेको छ । शुक्रबार बसेको राखेपको कार्यकारी समितिको बैठकले नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक तयारी थालेको हो ।

राखेपले खेलकुद आयोजनाका लागि समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ । खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा कार्यकारी समितिका संयोजक राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापाको संयोजत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गरेको छ । उनीहरुको गत पुस मसान्तमै म्याद सकिएको थियो ।

त्यस्तै चीनको होन्जाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता र बजेटका लागि खेलकुद मन्त्रालयमा अनुरोध गर्ने तथा रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट कुन–कुन खेलहरु समावेश गर्न खेलाडी छनोट गर्ने र सहभागितालाई बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *