फिलिपिन्समाथि नेपालको फराकिलो जित

काठमाडौँ । टि-ट्वेन्टी विश्वकप छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराएको हो । २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले २० ओभरमा ८२ रनमात्र बनाउन सक्यो ।

फिलिपिन्सलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, जितेन्द्र मुखिया र अबिनास बोहोराले एक एक विकेट लिए । सन्दीपले ४ ओभरमा मात्र ९ रन खर्चिएर ३ विकेट लिए । फिलिपिन्सका जोर्डन आलेग्राले  नटआउट २७, ड्यानियल स्मिथले २० र कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जितसँगै नेपाल २ खेलबाट ४ अ‌ंकसहित शिर्ष स्थानमा छ । क्यानडाको २ खेलबाट २ अंक  छ । फराकिलो जितको खोजीमा रहेको नेपाललाई यो जितले फाइदा पुगेकाे छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय १८  रन बनाएको थियो ।

कुशल भुर्तेल १०४ रनमा नट आउट रहे भने दिपेन्द्रसिंह ऐरीले ८३ रन बनाए । आसिफ सेख र कुशल मल्ललाई सस्तैमा गुमाए पनि कुशल भुर्तेल र ऐरीले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई उच्च योगफलतर्फ अग्रसर गराएका थिए ।

कुशल र दिपेन्द्रले  १ सय ७१ रनको साझेदारी गरे । जुन टी-ट्वेन्टीमा नेपालको सर्बाधिक रनको साझेदारी हो । यसअघि पारस खड्का र आरिफ शेखले १ सय ४५ रनको साझेदारी गरेका थिए ।

कुशलले करियरको पहिलो शतक प्रहार गरे । उनी टी-ट्वेन्टीमा शतक प्रहार गर्ने नेपालको तेस्रो खेलाडी पनि बनेका छन् ।भुर्तेलले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै करिअरको पहिलो टी-२० शतक प्रहार गरे। यसअघि यो उपलब्धि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले हासिल गरेका थिए।

नेपालले अब क्यानडासँग खेल्न बाँकी छ । नेपाल र क्यानडाको खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *