युएईसँगको महत्वपूर्ण खेलमा यी हुन् नेपालका ‘प्लेयर्स टू वाच’

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनोट हुने नहुने टुंगो लगाउन नेपालले मंगलबार युएईसँग खेल्दैछ । यो खेल जिते नेपाल सन् २०१४ पछि पहिलोपटक र समग्रमा दोस्रोपटक टी-ट्वेन्टी विश्वकपमा छनोट हुनेछ । कप्तान सन्दीप लामिछानेले नेपाललाई समर्थन र विश्वास गर्न आग्रह गरेका छन् ।

आजको खेलमा नेपालका केही खेलाडी प्लेयर्स टू वाचका रूपमा रहनेछन् । हुन त क्रिकेट सामुहिक खेल हो । यसमा सिंगो टिमको प्रदर्शन महत्वपूर्ण हुन्छ र आशा गरिएका खेलाडीले त्यसानुसार नखेल्न पनि सक्छन् । तर प्रतियोगिता र विगतको समेत प्रदर्शनका आधारमा नेपालका यी खेलाडीलाई प्लेयर्स टू वाचका रूपमा राख्न सकिन्छ ।

१. दिपेन्द्रसिंह ऐरीः दिपेन्द्र अहिले सर्वाधिक फर्ममा रहेका नेपाली ब्याटर अलराउन्डर हुन् । नेपालका हरेक जितमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । चारदेशीय सिरिजमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए । छनोट प्रतियोगिताका ३ खेलमा उनले १२१ रन बनाएका छन् । यो प्रतियोगितामा एकै इनिङमा उनको सर्वाधिक रन ८३ ९फिलिपिन्ससँग० रहेको छ । प्रतियोगितामा उनी पाँचौ धेरै रन जोड्ने खेलाडीका रूपमा छन् । उनको स्ट्राइक रेट १२६ छ । दीपेन्द्रले तीन खेलमा तीन विकेट लिएका छन् । उनले चारदेशीय सिरिजमा एकै खेलमा ४ विकेट पनि लिएका थिए ।

२. कुशल भुर्तेलः नेपालका ओपनर कुशलले प्रतियोगितामा एक शतक सहित ३ खेलमा १४३ रन बनाएका छन् । उनले फिलिपिन्ससँग अबिजित १०४ रन बनाएका थिए । उनको स्ट्राइकरेट १३५ रहेको छ । उनको भरोसायुक्त ओपनिङ नेपालको जितको आधार बन्न सक्छ ।

३. सन्दीप लामिछानेः नेपालका कप्तान तथा स्पिन बलिङका लागि विश्वमै चिनिएका सन्दीप लामिछानेको प्रदर्शन पनि नेपालका लागि अति नै महत्वपूर्ण छ । प्रतियोगिताका तीन खेलमा ८ विकेट लिएका उनी दोस्रो बढी विकेट लिने बलरका रूपमा रहेका छन् । उनी टी ट्वेन्टी करियरमै पहिलोपटक क्यानडासँगको खेलमा प्लेयर अफ दि म्याच समेत चुनिएका थिए ।

४. कमलसिंह ऐरीः नेपालका लागि फास्ट बलिङको मुख्य जिम्मेवारी कमलकै काँधमा छ । सोमपाल कामी, करण केशी लगायत नियमित फास्ट बलर बिनै रहेको नेपाली टिमको भरोसा कमल र जितेन्द्र मुखियामा छ । भलै जितेन्द्रले आशातीत प्रदर्शन गर्न सकेका छैनन् । तर कमल आफ्नो जिम्मेवारीमा अब्बल देखिएका छन् । उनले २ खेलमा पाँच विकेट लिएका छन् । क्यानडासँग सोमबार भएको खेलमा उनले शुरूवाती दुई विकेट लिँदै दबाब बढाएका थिए । एक खेलमा भने उनलाई आराम दिइएको थियो । उनको बलिङ इकोनोमी ५ छ ।

यसबाहेक ओपनिङ ब्याटिङमा आसिफ शेख र मध्यक्रमको ब्याटिङ तथा बलिङमा आरिफ शेखको प्रदर्शन पनि टिमका लागि महत्वपूर्ण हुनेछ । अलराउन्डर आरिफले एक खेलमा मात्र ब्याटिङ्ग गर्न पाएका छन् । तर आसिफ भने ब्याटिङमा फितलो प्रदर्शन गर्दै आएका छन् । उनी छिट्टै आउट हुनाले टिम दबाबमा पर्ने गरेको छ ।

यो पनि – नेपाल भर्सेस युएई : कसले मार्ला बाजी ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *