फेसबुकमा उम्मेदवारी घोषणा नगर्न कांग्रेस पोखराको उर्दी
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले सामाजिक सञ्जालमा आफूखुसी उम्मेदवारी घोषणा नगर्न उर्दी जारी गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गरी महानगर समितिले मनपरी उम्मेदवारी घोषणा गर्दा पार्टीको गरिमामा आँच आउने भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।
महानगर कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोलाले आकांक्षा भएपनि पार्टीभित्रै छलफल गर्न भनेका छन् ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेपछि मेयरका आकांक्षी दिनदिनै बढेका छन् । केही आकांक्षीको नाम कार्यकर्ताहरूले सामाजिक सन्जालमा हालेका छन् भने केहीले आफै सार्वजनिक गरेका छन् । यसरी मनपरी उम्मेदवारी घोषणा गर्नु पार्टी विधान विपरीत हुने भएकोले सजग रहन कांग्रेसको आग्रह छ ।
‘केही समय यता स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेस कास्कीका केहि कार्यकर्ताले पोखरा महानगरपालिकाको प्रमुखको उम्मेदवारी स्वघोषणा गरी सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएको छ । यस किसिमका क्रियाकलापले सिङ्गो नेपाली कांग्रेसको गरिमालाई आँच नपुगोस भन्ने विषयमा हामी सजक हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘महानगरको घोषणापत्रलाई साकार रूप दिने र सम्बन्धित समितिको सिफारिसमा केन्द्रिय समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने भएकोले त्यतिबेलासम्म पार्टीको नाम जोडेर उम्मेदवारी घोषणा नगर्न अनुरोध छ ।’
योसँगै कांग्रेस पोखराले पोखराको आफ्नै घोषणापत्र बनाउने तयारीमा लागेको छ । कांग्रेसको तर्फबाट पोखरा महानगरको रोडम्यापको रूपमा तयार पार्न लागिएको घोषणा पत्रका लागि सबैसँग सुझाव मागिएको सचिव थापाले बताए । ‘दस्तावेजमा राजनैतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीको सक्रिय सहभागिता रहोस भन्ने हामी चाहान्छौँ,’ उनले भने ।